काठमाण्डौ – उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब घरमै बसेर फारम भर्न सक्ने र आफैँले सर्टिफिकेट अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरेको छ ।
सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिन सक्ने व्यवस्थाको सुरुवात गरिएको हो । आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फारम भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्न सक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताए । उनले अबबाट विद्यार्थीहरूले घरबाटै एनओसी फारमका लागि लाग्ने शुल्क पनि तिर्न सक्ने व्यवस्था गरिएको बताए । यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको उनले बताए ।
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।