काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । मंगलबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झालनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा उनीहरुबीच मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भइरहेको छ । एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्नो अडान कायमै राखेपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको एक साता बित्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।