एजेन्सी – आगामी वर्ष हुने युरो कप छनोटअन्तर्गत समूह ‘ए’ मा स्पेनले विजयी सुरुवात गरेको छ। त्यस्तै, अर्को खेलमा क्रोएसिया वेल्ससँग १-१ गोलको बराबरीमा रोकियो।
शनिबार भएको खेलमा पूर्व न्युक्यासल तथा स्टोक सिटीका स्ट्राइकर जोसेलुले स्पेनका लागि ‘डेब्यू’ खेलमा २ गोल गर्दा स्पेनले नर्वेलाई ३-० ले पराजित गर्यो। नर्वे आफ्ना स्टार स्ट्राइकर अर्लिङ हालान्ड बिना मैदानमा उत्रिएको थियो। हालान्ड इन्जुरीका कारण मैदान बाहिर रहेका छन्।
खेलको १३ औँ मिनेटमा डनी ओलमोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए। पहिलो हाफमा १-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा दुई गोल गर्याे। जोसेलुले दुई मिनेटभित्र २ गोल गरेका थिए।
उनले ८४ औँ मिनेटमा व्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गरेका थिए। ८५ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे। उनी स्पेनी राष्ट्रिय टिममा डेब्यू गर्ने २००६ पछिका सर्वाधिक पाका खेलाडी बने। ३२ वर्षको उमेरमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका हुन।
शनिबार नै भएको अर्को खेलमा वेल्सले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै टिमको सम्भावित हार टार्दै खेल १-१ गोलको बराबरी गरी अंक बाँड्यो।
समूह ‘डी’ अन्तर्गत भएको खेलमा कर्मारिकको गोलमार्फत् २८ औँ मिनेटमा क्रोएसियाले अग्रता लिएको थियो। तर वेल्सका लागि डेब्यु गरेका नाथन ब्रोडहेडले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै टिमलाई महत्त्वपूर्ण १ अंक दिलाए।
त्यस्तै, अन्य खेलमा स्कटल्यान्डले साइप्रसलाई ३-० ले पराजित गर्दा टर्कीले अर्मेनियालाई २-१ ले पराजति गर्याे। त्यस्तै, स्विटजरल्यन्डले बेलारुसलाई ५-० ले हराउँदा इजरायल र कोसोभोले १-१ गोलको बराबरी खेले। त्यस्तै, रोमानियाले एनडोरालाई २-० ले पराजित गर्याे।