काठमाण्डौ – आफ्नै काका ससुराबाट पटकपटक यौन दुर्ववहार र बलात्कार प्रयास भएपछि कानुनी लडाइ लडिरहेकी विनु यादवले आफ्ना प्रतिवादी पवन कठायतले जिल्ला अदालत रामेछापबाट सफाई पाएपछि निराश हुँदै ‘कानुनी दाउपेचमा पटकपटक हारेपनी लड्न नछाड्ने’ प्रण गरेकी छिन् ।
गएको सोमबार न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले दाबी नपुगेको भन्दै आरोपित कठायतलाई सफाइ दिएपछि स्तब्ध बनेकी यादवले मंगलबार मध्यरातमा अधिकारकर्मी एवं अनेरास्ववियु नेतृ जस्मिन ओझासँग मिलेर संसद भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यलय लगायतका निषेधित ठाउँमा भित्तामा रातो रङ छ्यापेर प्लेकार्ड सहित आफ्नो आक्रोश व्यक्त गरिन ।
पीडित यादवको न्यायको लडाइँमा अहोरात्र खटिदैं आएकी ओझालाई नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुको अधिवेशनमा समेत नियोजित रूपमै हराइएको जानकारहरू बताउँछन् । केही दिन अगाडि सम्पन्न अनेरास्ववियुको अधिवेशनमा अधिकारकर्मी ओझा केन्द्रीय सदस्य पदको उम्मेदवार थिइन् ।
आफ्नै पतिबाट बलात्कारको शिकार बनेकी यादवले श्रीमान् र उनको परिवारबाट विवाहको आश्वासन सहितको धम्की आएपछि जाहेरी फिर्ता लिएर विवाह गरेपनि उनको वैवाहिक जीवन सुखद हुन त सकेन नै उल्टै काका ससुराबाट यौन हिंसा सहनुपर्यो । उनै काका ससुराविरुद्धको कानुनी लडाइँमा जिल्ला अदालत रामेछापबाट न्याय नपाएपनि उच्च अदालतबाट न्याय मिल्ल्नेमा उनी आशावादी छिन् ।
जिल्ला अदालत रामेछापले आरोपित कठायतलाई सफाइ दिने निर्णय गरेपछि ‘पैसामा न्याय बिकेको’ टिप्पणी गरेकी यादवको श्रीमानसँगको सम्बन्ध विच्छेदको मुद्दा भने उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।