काठमाण्डौ – सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा कडाइ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारले मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको जानकारी गराइन्।
त्यसैगरी सरकारले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णयसमेत भएको छ। तल्लो लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय सरकारले गरेको छ।
सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलार्य १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।
त्यसैगरी सरकारले यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णयसमेत गरेको छ।