पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित, बलिङ र ब्याटिङ दुवैमा रवाफिलो प्रदर्शन

काठमाण्डौ – आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा पीएनजीलाई ९ विकेटले हराउँदै नेपालले कीर्तिमानी जित निकालेको छ। लिग २ को अन्तिम खेलमा नेपालले बिहिबार युएईलाई पराजित गरे सोझै विश्वकप छनोट खेल्नेछ।

पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षति भेट्टायो। ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात गरेका थिए।

कुशल भुर्तेल ३३ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आशिफ शेख ५३ र कुशल मल्ल १२ रनमा नटआउट रहे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी.३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो।

पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै २५ रन खर्चे।

ललित राजवंशीले २ विकेट झारे। ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन दिए। कुशल मल्लले २ विकेट झारे। सोमपाल कामीको नाममा एक विकेट रह्यो।

स्पिनर सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए।

अर्का अ‍ोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए। कप्तान असद भाला २० रन बनाउँदा सन्दीपको बलमा ललितको हातबाट क्याच आउट भए।

चार्ल्स अमिनी १६ रनमा सन्दीपको बलमा ललितकै हातबाट क्याच आउट भए। रिले हेकुरे ४ रन बनाउँदा ललितको बलमा क्याच आउट भए।

नोर्मान भनुवा शुन्य रनमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्यच आउट भए। हिला भनुवा ७ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। कवुवा मोरिया १ रन बनाउँदा कुशल मल्लको बलमा भिम सार्कीबाट क्याच आउट भए।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

Leave a Reply

Your email address will not be published.