नेपालको एकदिवसीय मान्यता जोगियो, सोझै विश्वकप छनोट पुग्ने सम्भावना पनि कायमै

काठमाण्डौ – नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको छ । आज विश्वकप लिग २ अन्तर्गत किर्तिपुर मैदानमा भएको खेलमा युएइलाई १७७ रनले पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता कायमै रहेको हो । यससँगै नेपाल विश्वकप छनोटमा सोझै पुग्न सक्ने सम्भावना पनि कायमै छ ।

नेपालले सन् २०१८ मा ४ वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो मान्यता २०२२ सम्मका लागि भनिएको थियो । तर, कोभिड १९ महामारीका कारण खेलहरु प्रभावित भएर विश्वकप लिग २ का खेलहरु नसकिएपछि यी खेलहरु पूरा नहुँदासम्मका लागि यो मान्यता कायमै थियो । अब आजको जितसँगै नेपालको यो मान्यता २०२७ को विश्वकप छनोटसम्मका लागि कायम रहनेछ ।

विश्वकप लिग २ मा कूल ७ टोलीहरु छन् । यीमध्ये शीर्ष ५ टोलीको एकदिवसीय मान्यता कायम रहन्छ । आजको जितपछि नेपाल ३६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । र, अब बाँकी खेलको नतिजा जेसुकै आए पनि नेपाल चौथो स्थानबाट तल झर्ने सम्भावना छैन बरु नेपाल अझै माथि चढ्ने सम्भावना भने छ । त्यसैले नेपालको एकदिवसीय मान्यता सुरक्षित भएको छ ।

यससँगै नेपाल २०२३ को विश्वकपका लागि सोझै ग्लोबल छनोटमा जाने सम्भावना पनि कायमै छ । नेपालले अझै २ खेल खेल्न बाँकी छ । यी खेल युएइ र पपुआ न्यू गिनीसँग खेल्नुपर्नेछ । यी २ खेल जित्न सकेमा नेपाल नामिबियालाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा पुग्नेछ । यो लिगका शीर्ष ३ टोली सोझै विश्वकपको छनोट पुग्नेछन् ।

विश्वकप लिग २ को अंक तालिकामा स्कटल्याण्ड ५० अंकसहित शीर्षमा छ । ओमन ४४ अंकसहित दोस्रो स्थानमा छ । यी २ टिमलाई अरु कसैले उछिन्ने सम्भावना बाँकी नभएकोले दुवै विश्वकप छनोट पुगिसकेका छन् । ३९ अंकसहित तेस्रो स्थानमा रहेको नामिबियालाई भने नेपालले उछिन्न सक्छ । नेपालको ३६ अंक छ र २ खेल खेल्न बाँकी छ । नेपालले बाँकी २ खेल जितेमा ४० अंकसहित तेस्रो हुँदै जिम्बाब्बेमा हुने विश्वकप छनोट खेल्न जानेछ ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

Leave a Reply

Your email address will not be published.