प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के–के भए कुराकानी ?

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।

उनी देउवाका भाई प्रेम बहादुरको देहवसानपछि समवेदना दिन बालुवाटार गएका हुन् । त्यसक्रममा उनीहरुबीच चुनावी समिक्षा, बजेट, सरकारका नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।

३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तल्लो तहसम्मै तालमेल भएको थियो । तर, कतिपय ठाउँमा गठबन्धन दलले एक आपसमा धोका दिएको गुनासो पनि गठबन्धनमा आवद्ध दलका नेताहरुले गर्न थालेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई चुनावी नतिजामा असन्तुष्ट छन् ।

उनीहरूले सार्वजनिक रुपमै गठबन्धन राम्रोसँग कार्यान्वयन नभएको गुनासो पोखिसकेका छन् । बाबुरामले त कांग्रेस र माओवादी केन्द्रले मात्रै चुनावी लाभ लिएको आरोप लगाएका थिए ।

माधव नेपालले पनि अब गठबन्धनमा चुनावको परीणामबारे गम्भीर समिक्षा हुने बताईसकेका छन् । अहिलेको मत परीणामबाट कांग्रेस र माओवादी केन्द्र भने खुशी नै रहेको चर्चा चलिरहेको छ । यही सन्दर्भमा अहिले प्रधानमन्त्री देउवा र दाहालबीच छलफल भैरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.