फिनल्याण्ड र स्विडेन नेटोमा जाने निर्णयले रुसको आगामी कदम कस्तो होला ?

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट

जनवरी १५ २०२२मा नाटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि नाटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। त्यसको खण्डन गर्दै फिनल्याण्डका परराष्ट्र मन्त्री पेक्का हाविस्तोले फिनल्याण्डको त्यस्तो कुनै सोच नभएको बताएका थिए। तर आज ठिक ४ महिना पश्चात फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर फिनल्याण्ड नेटोमा जाने घोषणा गरेका छन्। त्यसकै भोलि पल्ट स्विडेनले पनि नेटोमा जान घोषणा गर्यो। आजको लेखमा यसले हाल चलि रहेको युद्धलाई के कस्तो मोड दिन सक्छ ? युक्रेनले नेटोमा जाने बारे चर्चा गर्दा आक्रामक भएको रुसको फिनल्याण्ड तिर कस्तो नीति बन्ने छ ? र कथंकदाचित रुसले आक्रमण गरेमा कसरी अघि बढ्ने छ ? यी र यस्तै प्रश्नको नजिक रहेर वैश्विक भूराजनीतिक द्वन्द र टकराव बारे बताउने जमर्को गरेका छौँ।

दोश्रो विश्व युद्ध पश्चात हाल सम्म आफुलाई एक शान्त र असंलग्न आन्दोलनको विशिस्ट खम्बाको रूपमा स्थापित गरेको फिनल्याण्डले, आफ्नो सबै भन्दा लामो सिमा जोडिएको मुलुकको दुश्मनको रूपमा परिचित, अमेरिकी धुर्वको सैन्यगुटमा सामेल हुने निर्णयले हालको विश्वको अवस्थाको चित्रण गर्छ। अहिलेको अवस्थामा कुनै पनि देशलाई असंलग्न रहन नमिल्ने गरि दवाब बढेको छ। या त आफ्नो धुर्वमा नाई नास्ती वा कुनै पनि आनाकानी गरेमा त्यो अर्को धुर्वमा रहेको मान्ने गरि शक्ति राष्ट्रहरुको टकराव चर्किएको छ। यहि टकरावको कारण फिनल्याण्ड जस्तो असंलग्न राष्ट्रले समेत एउटा धुर्वको सैन्य गुटमा जोडिन पर्ने वाध्यता आई लाग्यो।

फिनल्याण्डको परराष्ट्र वौद्धिक मंच (फिन्निस फरेन स्कोलर फोरम)का सचिव तोल्वानेनका अनुसार फिनल्याण्डकि प्रधानमन्त्री सन्ना मारिनसंग न्याटोका समर्थकहरुले भेटघाट गरे पछि हालसम्म सदैव एक असंलग्न देशको रूपमा आफ्नो पहिचान कायम राखेको फिनल्याण्डले आफ्ना पुरानो विरासतमय बाटो त्याग्दै छ। अप्रिल २८मा बेलायति परराष्ट्र सचिव लिज ट्रसले अब वैश्विक नेटो संगठन विस्तार गरेर इण्डो प्यासिफिक क्षेत्रमा पनि सुरक्षाको सुनिश्चितता गर्न पर्ने कुरा उठाएकी थिईन्।

खैर, यी त भए असंलग्न भन्ने नीति नै अहिलेको परिपेक्षमा अनुचित र अव्यवाहारिक भै सक्यो भन्ने तथ्य। अब अघि बढौँ युक्रेन र फिनल्याण्डमा रुसको नजर केलाउने तर्फ।

युक्रेनसंग रुसको विवाद भित्र भित्र धेरै अघि देखि कायम रहेतापनि सन् २०१४ देखि यो बाहिरै छताछुल्ल हुँदै आएको छ। सन् २०१४को युक्रेनको विवाद पछि रुसले युक्रेनको क्रिमिया भन्ने ठाउँ आफुले कब्जा गर्दियो। यो आक्रमणको कारण युक्रेनमा रुस र रुसी भाषीहरु प्रति घृणा जाग्नु स्वाभाविक नै थियो। युक्रेन भित्रको त्यो घृणाको कारण रुसी भाषी बाहुल्य रहेको डोन्बास क्षेत्रमा विखण्डनको लागि आवाज उठ्न थाल्यो। रुसी भाषीहरुले रुसलाई आफ्नो रक्षा गर्दिनको लागि पनि अनुनय-विनय गर्न थाले पछि रुसले यो मामिलामा कुरा उठाउन थाल्यो। यसले नै बर्तमानको युद्धको लागि निमित्त कारणको रुप लिग्यो। युक्रेनको डोनेट्स्क र लोहान्स्कलाई २१ फेब्रअरी २०२२मा रुसले स्वतन्त्र देशको रूपमा मान्यता दिएर आफ्नो शान्ति सेना पठाए पश्चात नै युद्ध सुरु भयो र यो अहिले सम्म रोकिएको छैन। रुसले युद्ध भन्दा पनी आफ्नो सैन्य कारबाहीको रूपमा यसलाई बताउँदै आएको छ भने युक्रेन र पश्चिमा मुलुकहरुले यसलाई युद्धको रूपमा हेरेका छन्।

रुसले आफु विरुद्ध गतिविधिको लागि युक्रेनले अमेरिकासंग मिलेर जैविक देखि रसायनीक हतियारको प्रयोगशाला संचालन गरेको पनि बताएको थियो, जसको खण्डन गर्दै अमेरिकाले सो आरोप निराधार रहेको विज्ञप्ति जारि गरेको थियो। तरपनि, संयुक्त राष्ट्र संघले युक्रेनको प्रयोगशालामा हानिकारक जैविक तत्त्व तुरुन्त नष्ट गर्नु भनि आग्रह गरेको थियो। यसले रुसको दावी सहि ? वा अमेरिकी खण्डन सहि ? भन्ने अन्योल सृजना गर्छ।

अर्को रोचक कुरा के छ भने, जुन क्षेत्रलाई रुसले स्वतन्त्र देशको मान्यता दिएर शान्ति सेना पठाएको थियो, सो क्षेत्र दुई महत्त्वपूर्ण खनिजको भण्डारले भरिएको रहेछ। कोइला र लिथियम। यी दुई खनिज हालको विश्वमा उर्जा व्यापार देखि विभिन्न प्रविधिका गतिविधिमा प्रयोग हुन्छन्। त्यो क्षेत्रको खनिज भण्डारमा कसले उपभोग गर्ने भन्ने होडबाजीलाई पनि हालको द्वन्दलाई जोड्न सकिने आधार दिञ्छ, किनकि खनिजको कब्जाको लागि पनि धेरै युद्ध खाडी मुलुकहरुले भोगेको सारा विश्वले देखेको छ।

अब फिनल्याण्ड तिर रुसले कस्तो कदम चाल्नेछ भन्ने कुरालाई नियालौँ। फिनल्याण्ड र रुसको दोश्रो विश्व युद्ध तिर मुडभेड भएको थियो। त्यस पछि हालसम्म रुस र फिनल्याण्डको सम्बन्ध सधैँ सुमुधुर र विश्वासिलो रहेको छ। सन् २०१८ जुलाई १६मा पुटिन र ट्रम्पले आफ्नो भेटको लागि फिनल्याण्डको राजधानी हेलसिन्की रोज्नुले पनि, रुसले फिनल्याण्डलाई एक विश्वासिलो छिमेकीको रूपमा हेरेको पुष्टि गर्छ। फिनल्याण्डले रुसी भाषी वा रुस विरुद्ध कुनै पनि षड्यन्त्र नगरेको हुनाले पनि रुसले फिनल्याण्ड र युक्रेनलाई एकै नजरले पक्कै हेर्दैन।

तर नेटो प्रवेश गर्ने बारे निर्णय लिगी सकेको अवस्थामा फिनल्याण्ड साच्चै सुरक्षित छ? वा रुसले आफुले धेरै पटक आफ्नो सिमानामा नेटो बिस्तार गर्नु भनेको आफुलाई घेरेको मान्ने र यसको कडा जवाफ दिने भन्दै आएको अवस्थामा रुसले आफ्नो भाषामा बताए सरि सैन्य कारबाही गर्ला वा के होला ? यसलाई पनि थोरै विश्लेषण गर्ने प्रयास यस प्रकार छ।

वर्तमान अवस्थामा नेटो र रुसको अहंकारको युद्ध पनि चलेको छ। एउटाले आफ्नो क्षेत्र भन्दा पर बस्नको लागि आग्रह गर्दै छ भने अर्कोले सक्दो विस्तार हुने नीति लिएको छ। कोरोनाले ध्वस्त भएको अर्थतन्त्र उकास्न अमेरिकाले युद्धको नीति र आफ्नो हतियारको व्यापार थालेको बारे पनि अमेरिकी-विरोधी कित्तामा चर्चा सुन्न पाइञ्छ। युक्रेनका राष्ट्रपति जेलेंसकीले पनि युक्रेनलाई पश्चिमा मुलुकहरुले युद्धमा साथ् नदिएको, एक्लै छोडेको भन्दै आरोप पनि लगाएका थिए। आफुलाई हतियार उपलब्ध गराउन आग्रह गर्दै, “यो सबै निशुल्क होइन, केहि मुल्यसहित आएको”, कुरा उनले बताएका थिए। यसको अर्थ पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार बेचि रहेका छन्। युद्धले ध्वस्त भएको युक्रेनले अहिले हतियार किनेको मुल्य कहिले र कसरी चुकाउने छ होला ? युक्रेनको कुन कुन खनिजका भण्डार कुन कुन देशले कब्जा गर्ने हुन् ? त्यो दिन नै सबै तथ्य खुल्ने छन्।

हालसम्म राष्ट्रसंघले युद्धलाई बिराम लगाउने प्रयास गरेतापनि, रुस स्वयम्ले भिटो प्रयोग गरेर राष्ट्रसंघको निर्णयलाई खारेज गर्दिएको थियो। संसारमा अहिले कुनै पनि शक्तिले यो युद्धलाई बिराम लगाउनको निम्ति उचित भूमिका निभाउन नसक्ने लाचारी परस्थिति सृजना नै भएको हो त ? वा युद्ध फैलिए हतियारको कारोबार र आफ्नो शक्ति प्रदर्शनको रणमैदानको खोजीमा सारा शक्ति राष्ट्र छन् ? यी प्रश्न पनि अहिलेको टड्कारो हो।

अहंकारको लडाईमा अमेरिकाले रुसलाई उसकै ढोकामा आएर, “नेटो विस्तार गरे,के गर्न सक्छौ?”, भनेर चुनौती दिनको निम्ति नै फिनल्याण्ड प्रयोग भएको त छैन ? अफगानिस्तानमा खबरै नगरी आफ्नो सेना फिर्ता लगेको, युरोपका देशलाई रुससँग तेल खरिद नगर्न भनेर आफैँले धेरै मात्रमा रुसी तेल भण्डारण गरेको अमेरिकाको अचम्मको व्यवहारले अमेरिका प्रति कहिँ न कहिँ त पक्कै अविश्वास पैदा गर्छ। यस्तै अविश्वासको कारण मे १ २०२२मा वेलायत र अमेरिकाको उच्च स्तरीय वैठक पश्चात बेलायती प्रधान मन्त्रिले फिनल्याण्ड र स्वीडेनका प्रधानमन्त्री भेटेर सैन्य सम्झौता गरे पश्चात नेटोको लागि फिनल्याण्ड र स्विडेन तयार हुनुले सोच्न वाध्य बनाउँछ। कतै रुसले पनि आफ्नो अहंकार बचाउनको निम्ति केहि कदम चाल्ने त होइन ? रुसले सैतान २ नाम गरेको आफ्नो मिसाइल प्रयोग गरेर नेटो देशलाई आधि घण्टामा ध्वस्त गर्न सक्ने भनेर पनि बोल्दै आएको छ। सुनामी ल्याएर बेलायतलाई डुबानमा पार्दिने धम्की पनि रुसले दिदै आएको छ।

यदि रुसले कदम चालेमा के कसरी अघि बढ्ला? थोरै सम्भावना नियालौँ

रुस अहिले एक्लै नेटो देशको हतियार विरुद्ध लड्दै आएको छ। रुसले आफ्नो हतियार सकेसम्म बचाएर सानो-तिमो हतियार मात्र प्रयोग गरि रहेको छ। यो उसको युद्ध रणनीति हो। युक्रेनमा नै यदि सबै शक्तिशाली, महंगा र गोप्य अस्त्रहरुको प्रयोग गरेमा रुसको सबै शक्तिको हैसियत मापन हुने र उसको ती हतियार भावी दिनमा हुन सक्ने समस्त पश्चिमासंगको युद्धमा कमि हुने आँकलन रुसको रहेको छ, र सोहि अनुसार उसको युद्धको नीति रहेको प्रष्ट छ। गत हप्ता मात्र अमेरिका र एस्टोनियाको जासुसी संस्थाहरुले, “रुस लामो युद्धको लागि योजना बनाएर अघि बढ्दै छ”, भनेर सुचित गराएका थिए। यस्तो अवस्थामा रुसले एकै पटक युक्रेन र फिनल्याण्डमा हात हाली हाल्न कठिन नै हुञ्छ। युक्रेनले खरिद गरेका नयाँ हतियार र प्रविधिको सहयोगले नै रुसको मोस्कोवा युद्धपोतलाई समुद्रमा डुबाइदिएको थियो। रुसले युक्रेनलाई एक हिसाबले भूपरिवेष्टित गरेर आफुले कब्जा गरेका ठाउँको व्यवस्थापन नगरी फिनल्याण्ड तिर र स्विडेन तिर आक्रमण थाल्नु उसको भूल पनि हुन सक्छ।

फिनल्याण्ड युरेपेली युनियनको पनि सदस्य भएकाले फिनल्याण्डमाथि आक्रमण भएमा युरेपेली युनियनको पारस्परिक रक्षा खण्डको धारा ४२(७) अनुसार युरोपेली युनियनका अन्य सदस्यले पूर्ण क्षमताले सहयोग गर्ने प्रावधान अनुसार युद्ध सम्पूर्ण युरेपेली युनियनसंग गरे सरह हुनेछ। यसले पनि फिनल्याण्डमाथिको आक्रमण युक्रेन जत्तिको सजिलो अवश्य हुँदैन।

फिनल्याण्ड नेटोमा प्रवेश गर्ने चर्चा सुरु भएदेखि नरम र कडा दुवै रूपमा सम्झाउँदै आएको रुससंग नेटो जाने निर्णय भए लगत्तै १४ मे मा फिनल्याण्डका राष्ट्रपति निनीस्तोले पुटिनसंग फोन वार्ता गरेका थिए। “पुटिन संग हामी नेटोमा जाने निर्णय गरियो भनेर भन्दा पुटिनले त्यस्तो आपत्तिजनक केहि पनि नभनेको”, कुरा निनिस्तोले १५मेमा पत्रकार सम्मेलनमा बताएका थिए।

यसले रुस भर्खर फिनल्याण्डमा आक्रमण गर्ने मनासयमा नरहेको बुझ्न सकिञ्छ। तर पुटिनले केहि पनि आपत्ति नजनाउने अभिव्यक्तिको पछि दुई देशका राष्ट्रपति बीच केहि मौखिक सहमति भएको पो छ कि भन्ने आशंका गर्न सकिञ्छ। अथवा रुसले एकछिन युक्रेन तिर आफ्नो पूर्ण पकड र युक्रेनको निशस्त्रीकरण गरे पश्चात मात्र फिनल्याण्ड तिर कदम चाल्ने हुन्, यो पनि सोच्न पर्ने नै हुञ्छ। फिनल्याण्ड उत्तरी धुर्वको नजिकको देश हो, जँहाको तापक्रम एकदमै चिसो हुने हुनाले जाडोमा केहि कदम चाल्ने गरि अरु तयारीमा रुस जुटेको छ ? वा चिसो ठाउँ र कम जनसंख्या हुने ठाउँको उत्तरी धुर्वमा न्युक्लियर हतियारको परिक्षण र प्रदर्शन गर्नको निम्ति युद्ध पिपाशु हतियार उत्पादक व्यापारीहरुले फिनल्याण्ड फसाउने कुनियत हो ? यो भने आगामी दिनमा नै प्रष्ट हुने छ।

तर जे होस्, छिमेकी फेर्न नसकिने तथ्य बुझेका फिनल्याण्ड र रुसका राष्ट्रपतिले आफ्नो वैश्विक नेतृत्व गर्न सक्ने क्षमता र विवेक पुर्याउन सकुन् भन्ने शुभकामना सहित विश्व शान्तिको प्रार्थना गर्दछौँ।

Leave a Reply

Your email address will not be published.