भक्तपुरमा भू-माफियाको रजगज (भाग-७): भूमिसुधार मन्त्रीले हडपेको सरकारी जग्गा रोक्का राख्न अख्तियारको पत्र

काठमाण्डौ – भू-माफियाको आडमा सरकारी जग्गालाई व्यक्तिले हडप्ने प्रवृत्ति विरुद्ध पिएलए खबरले लामो समयदेखि खोज अनुसन्धान गर्दै तथ्य प्रस्तुत गर्दै सरकारको नाममा रहेको जग्गालाई सरकारको नाममा नै ल्याउने अभियानमा सक्रिय छ ।

पिएलए खबरको टिमले गहन खोज, अनुसन्धानबाट करिब ६ महिना अगाडि प्रकाशित गरेको ‘भक्तपुरमा भू-माफियाको रजगज (भाग-५): पूर्व मन्त्री नै माफियाका नाइके !‘ समाचारको तथ्यलाई नै आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीले हडपेको सरकारी जग्गा रोक्का राख्न मालपोत कार्यलय भक्तपुर र नापी कार्यलय भक्तपुरलाई पत्र काटेको छ । उक्त जग्गा तत्कालीन भूमिसुधार मन्त्री एवं नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का नेता जगन्नाथ आचार्यको मिलेमतोमा हडपिएको खबर हामीले सार्वजनिक गरिसकेका छौँ ।

मालपोत र नापी कार्यलय भक्तपुरलाई उक्त हडपिएको सरकारी जग्गा रोक्का राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र पिएल खबरले प्राप्त गरेको छ । उक्त पत्र अनुसार भक्तपुर जिल्लाको साविक दिव्यश्वरी २ (ख) को कित्ता नम्बर १०१२ (फिल्डबुकमा खोला जनिएको) क्षेत्रफल २८ रोपनी २ आना जग्गा नापीको समयमा खडा गरिएको फिल्डबुकमा खोला जनिएको कुरा अख्तियार स्वयंले पुष्टि गरेको छ ।

‘साविक दिव्यश्वरी २ (ख) को कित्ता नम्बर १०१२ तत्कालीन भूमि प्रशासन कार्यलय भक्तपुरको पत्र संख्या ६५/०३०/३१ मिति २०३१/१/२५ को निर्णयअनुसार कित्ताकाट भै कित्ता नम्बर ११२० र ११२१ कायम भएकोमा कित्ता नम्बर ११२० को क्षेत्रफल १७ रोपनी १४ आना जग्गा व्यक्ति विशेषको नाममा देखिन आएकोले साविकमा खोला जनिएको जग्गा कित्ताकाट भै व्यक्ति विशेषको नाममा कायम भएका सम्पूर्ण कित्ताहरुका सम्बन्धमा आयोगबाट अनुसन्धान भैरहेको हुँदा अनुसन्धानको कार्य सम्पन्न नभएसम्मको लागि कुनै पनि तवरबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का हुन आयोगको मिति २०७८/०४/१९ को निर्णयानुसार अनुरोध छ ।’ अख्तियारले मालपोत कार्यलय भक्तपुर र नापी कार्यलय भक्तपुरलाई पठाएको पत्रमा उल्लेख छ ।

भक्तपुरमा भू-माफियाको रजगज(भाग-६): प्रस्तावित हनुमन्ते करिडोरको भविष्य नै अन्यौलमा

पिएल खबरको निरन्तरको अनुसन्धान र खबरदारी पछी अख्तियार समेत आकर्षित भएको साविक दिव्यश्वरी २ (ख) को कित्ता नम्बर १०१२ (फिल्डबुकमा खोला जनिएको) क्षेत्रफल २८ रोपनी २ आना जग्गालाई कित्ता नम्बर ११२० (क्षेत्रफल १७ रोपनी १४ आना) र कित्ता नम्बर ११२१ (क्षेत्रफल २८ रोपनी २ आना) नै कायम राखेर कित्ता नम्बर ११२० को १७ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा ल्याउने काम भएको कुरा हामीले निकै अगाडि प्रकाशित गरिसकेका थियौं । अख्तियारले पत्रले त्यसलाई प्रमाणित गरेको छ, भलै यो अनुसन्धानको क्रममै किन नहोस् ।

कित्ता नम्बर १०१२ बदर भएर ११२० र ११२१ आएपछिको प्लट रजिष्ट्ररको प्रतिलिपिमा कित्ता मात्रै परिवर्तन देखिने गरी भएको किर्ते काम

यता, नापी कार्यलय भक्तपुर पनि साविक दिव्यश्वरी २ (ख) को कित्ता नम्बर १०१२ (फिल्डबुकमा खोला जनिएको) जग्गाको ओभरल्याप नक्साबाट हेर्दा मध्यपुर थिमी नगरपालिका १५ को सिट नम्बर १०२-१२२९-०१ र १०२-१२२-०६ का कित्ताहरु भिडेको स्वीकार गर्दै उक्त कित्ताहरु हाल साविक भैसकेको र अहिलेसम्म फिल्ड निरिक्षण नगरेको कुरा स्वीकार गरेको छ ।

पिएल खबरले उक्त कित्ता जग्गाको बारेमा थप खोजबिन गर्दा प्राप्त गरेको विवरणलाई कित्ता नम्बर ११२० लाई टुक्राएर बनेको कित्ता नम्बर ११२० का कित्ताहरु अहिले कस्को नाममा र कति क्षेत्रफल ओगटेका छन् भन्ने विवरण समेत तयार गरेका छौं ।

नापी हुदा दिव्यश्वरी २ ख कित्ता नं १०१२ क्षेत्रफल २८ रोपनि ३ आना २पैसा (हनुमन्ते खोला) भनी नापि भएको कित्ता नं १०१२ कित्ता काट गरि कित्ता नं ११२० क्षेत्रफल १७ रोपनि १४ आना जगन्नाथ आचार्यले आफनो नाउमा श्रेस्ता तयार गरि उक्त कित्ता कात गरि बिक्री गरेको हालका जग्गा धनीहरु


केही भू-माफिया र सिमित व्यक्तिको स्वार्थमा सरकारी सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कठघरामा ल्याउने यो अभियानमा प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोग पाउने आशा सहित समाज सुधारको अभियानमा लाग्ने सबैलाई विशेष धन्यवाद समेत व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published.