सोभियत फौजले अफगानिस्तान छाड्दा पनि तालिवान अमेरिकाले छाड्दा पनि तालिवान

एजेन्सी – अफगानिस्तानको आधा भन्दा बढी भू–भागमा तालिवानको नियन्त्रण कायम भइसकेको छ । मुख्य शहरहरुमा नियन्त्रणका लागि बढिरहेका तालिवानले अफगानिस्तानको शासनसत्ता कब्जा गर्ने सम्भावना बढ्दै गएको छ । यो घटना अमेरिकी सेना अफगानिस्तान छाडेर गएलगत्तै विकास भएको हो ।

अफगानिस्तानमा अमेरिकी सेना नजिक भएर काम गरेकाहरु असुरक्षित भएका छन् । उनीहरु धमाधम अमेरिका पुग्न थालेका छन् । विशेषगरी भाषा उल्था गर्न राखिएकाहरु अमेरिका पलायन हुन थालेका छन् । विगतमा सोभियत संघका फौजले यसरी नै अफगानिस्तान छाड्दा उनीहरु निकटहरु असुरक्षित भएका थिए । धेरैजना मारिएका थिए ।

शितयुद्ध ताका तालिवानले पाकिस्तानमार्फत् अमेरिकाकै भित्री सहयोगमा रुसी सेनालाई अफगानिस्तानबाट फिर्ता हुन वाध्यकारी अवस्था निर्माण गर्न सकेको थियो । रुसको बलियो प्रभाव रहेको अफगानिस्तानमा त्यतिबेला रुसमुखी राष्ट्रपति मोहम्मन नाजिबुल्ला बलिया थिए । सन् १९८६ देखि १९९२ सम्म अफगानिस्तानमा शासन गरेका नाजिबुल्ला तालिवानबाट मारिएका थिए । तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि काबुलस्थित संयुक्तराष्ट्रसंघको मुख्यालयमा शरण लिएका उनलाई त्यहाँबाट निकालेर निर्ममतापूर्वक हत्या गरी झुण्ड्याइएको थियो ।

नाजिबुल्लाको शासनकालमा तत्कालीन सोभियत संघले सेना विस्तारै फिर्ता लगेको थियो । उनले त्यहाँको गृहयुद्ध अन्त गर्न खोजेका थिए । तर, सोभियत संघले सेना फिर्ता लिएर नाजिबुल्लालाई साथ दिएपनि उनको सत्ता टिक्न सकेन । शितयुद्धताका सोभियत संघ विभाजित भयो । नाजिबुल्ला कमजोर भए । उनी राजीनामा दिन वाध्य भए । त्यसको असर अफगानिस्तानमा अमेरिकालगायत पश्चिमाहरुको प्रभाव बलियो भयो ।

तालिवान काबुल पसे । २६ सेम्टेम्बर सन् १९९६ मा नाजिबुल्ला र उनका भाई साहपुरको निर्ममतापूर्वक हत्या गरी ट्राफिक लाइटको पोलमा झुण्ड्याइयो । नाजिबुल्लाको हत्यामा अमेरिकाको सहयोग पाएको पाकिस्तानको भूमिकाको विषय उठिरह्यो । सोभियत संघको साथ र भारतसँग नजिकको सम्बन्ध रहेका नाजिबुल्लाको पतन हुँदै गर्दा पाकिस्तानको साथ पाएको तालिवान सत्तामा पुगेको थियो । त्यतिबेला अमेरिकाको पाकिस्तानसँग सुमधुर सम्बन्ध थियो । अमेरिकाले पाकिस्तानको माध्यमले तालिवानलाई भित्री साथ दिएर सोभियत संघलाई अफगानिस्तानमा कमजोर पार्न सकेको थियो ।

जसरी अफगानिस्तानको गृहयुद्धको बहानामा तत्कालीन सोभियत संघको फौज त्यहाँ पस्यो त्यसरी नै अमेरिकासहित नेटोका सौनिक प्रवेश गरे । तालिवानको पतनसँगै नयाँ परिस्थिति विकास भयो । अमेरिकी साथमा सरकार चलिरह्यो । तर, विश्वको बदलिएको शक्ति सन्तुलनले अफगानिस्तानमा अमेरिकी प्रभाव कमजोर हुँदै गयो ।

पाकिस्तानको अवोटावादमा अल कायदा नेता ओसामा विन लादेन लुकेर बसेका थिए । त्यसमा पाकिस्तानको भूमिका रहेको खुल्दै गएको छ । तर, अमेरिकी सेनाले सन् २०११ मा पाकिस्तानभित्र सैन्य बल प्रयोग गरी लादेनलाई मारिदियो । त्यो घटनाले पाकिस्तानसँग अमेरिकाको सम्बन्ध चिसियो । अफगानिस्तानमा तालिवान शक्तिशाली बन्दै जानथाल्यो । पाकिस्तानले तालिवानलाई पछाडिबाट साथ दिएर बलियो बनाउँदै लग्यो । अर्कोतर्फ, पाकिस्तानले अमेरिकासँगको सम्बन्धबाट टाढा बनाएर चीनसँग निकटता बढायो । सैन्य सम्बन्ध चीनसँग बढाउँदै लग्यो ।

तालिवानको प्रभाव बढ्दै जाँदा गत हप्ता रोचक घटना विकास भयो । तालिवानी नेता मुल्ला अब्दुल घानी बाराडारको नेतृत्वको टोली पहिले रुस र त्यसपछि चीन पुग्यो । तालिवानले ती देशहरुबाट साथ र सहयोगको प्रयास गरेको सन्देशहरु प्रवाह भयो । चीन पुगेर विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरे । तालिवानका नेताले अफगानिस्तानको भूमि चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको ग्लोबल टाइम्सले लेखेको छ ।

तालिवानका प्रवक्ता सुहेल सहिनले दिस वीक इन एशियामा अन्तवार्ता दिदै चीनलाई अफगानिस्तानको मित्र भनेका छन् । चीनलाई त्यहाँ रहेका मुस्लिम पृथकतावादीलाई सहयोग नगर्ने प्रतिवद्धता समेत तालिवानले जनाए । सेहले अलकायदाको गतिविधिलाई रोक्न भूमिका खेल्ने समेत बताएका थिए ।

अफगानिस्तानमा तालिवानप्रति चीनको नरम व्यवहार र पछिल्ला उच्चस्तरीय भेटहरुले महत्वपूर्ण सन्देशहरु दिन सक्यो । अफगानिस्तानमा पनि रुस र चीनको प्रभाव बढेको देखियो । अमेरिका र पश्चिमा देशहरुको ठाउँ रुस र चीनले लिने संकेत थियो त्यो ।

रुस र चीनमा तालिवानी प्रतिनिधि पुगेपछि झन् बढी भूभागहरु कब्जा गर्दै गएका छन् । यी सबै घटनाहरु विश्वको शक्तिसन्तुलनमा बदलावको परिणाम हो । अमेरिका सर्वशक्तिमान बन्दा अफगानिस्तानमा उसको बलियो पकड बन्यो । अहिले उसलाई रुस र चीनले विश्वभर कडा चुनौती दिन थालेका छन् । परिणामस्वरुप तालिवानहरु अमेरिकाविरोधी बाह्य शक्तिको साथले फेरि अफगानिस्तानमा बलियो बन्दै गएका छन् । जसरी सोभियत संघको सेना फिर्ता भएपछि मुजाहिद्दीन हुँदै तालिवान सत्तामा आए । त्यसरी नै अमेरिकी सेना फिर्ता भएपछि तालिवान पुनः सत्ताको नजिक पुगेको छ । यी सबै घटनाका पछाडि शक्तिराष्ट्रहरुको बढ्दो टकराव र आफ्नो प्रभाव बनाइराख्ने रणनीतिको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *