पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको प्यानल नै विजयी

काठमाण्डौ – नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । चैत २५ गते भएको मतदानको मतगणना शनिबार आज सकिएको हो । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका हुन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छिन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।

प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो । पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो । महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो ।

अध्यक्षमा पोखरेल विजयी हुँदा उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । रोशन पुरी महासंघको महासचिव बनेका छन् भने गोविन्दप्रसाद चौलागाई खुला सचिव बनेका छन् ।

महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् भने आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् । मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन् । एशोसिएट सचिव पवन आचार्य बनेका छन् । कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् भने लेखनाथ न्यौपाने लेखा समिति संयोजक बनेका छन् ।

Leave a Reply

Your email address will not be published.