पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

काठमाण्डौ – नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल निगम (आईओस) ले बढाएको छ ।

भारतीय निगमले पेट्रोलियम पदार्थको मूल्य सोमबार फेरि बढाएर पठाएको हो । आईओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२०, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५, हवाई इन्धनमा ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर ९१.९६ मूल्य बढेको छ ।

फेब्रुअरी १६ मा आईओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११४, डिजेल र मट्टितेलको मूल्य ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

भारतबाट आएको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रूपमा १ अर्ब ५४ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

नयाँ मूल्यका आधारमा निगमले नेपाली उपभोक्तालाई बेच्ने मूल्य समायोजन गर्दै आएको छ । नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६, डिजेलमा ८.२२ रुपैयाँ नोक्सान हुने निगमले जनाएको छ ।

भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि अब नेपाल आयल निगमले समेत मूल्य बढाउने जनाएको छ । यसको मारमा अन्ततः नेपाली जनता पर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *