गंगामायाको अनशनको ७१ औं दिन: ‘कि न्याय, किन सहज मृत्यु दिन सरकारसँग आग्रह’

काठमाण्डौ – छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले ‘छोराको हत्यामा संलग्नलाई कानुनी कारबाही गर्दै मलाई न्याय दिन अन्यथा सहज मृत्युको वातावरण बनाइदिन’ सरकारसँग माग गरेकी छिन् ।

वीर अस्पतालको क्याबिन नम्बर १ मा आमरण अनशन बसिरहेकी अधिकारीको यो १२ औं चरणको अनशन हो । छोराका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनकै क्रममा २०७३ असोज ६ मा ३३४ दिनको अनशन पछि उनका श्रीमान् नन्दप्रसाद अधिकारीको ज्यान गएको थियो ।

१२ औं अनशनको ७१ औं दिन पुग्दासमेत सरोकारवाला निकायले चासो दिएका छैनन् । आमरण अनशनको ६९ औं दिन पुग्दा सत्याग्रही अधिकारीको स्वास्थ अवस्था जोखिमपूर्ण बन्दै गएपछि उनकै अनुमतिमा शनिबारदेखि घाँटीको शल्यक्रिया मार्फत जीवन बचाउने तरल पदार्थ दिदैं आइएको छ ।

आफ्ना छोराको हत्या गर्ने खुला रुपमा घुमघाम र मोजमस्ती गर्दै हिंडेको र सरकारले कारबाही गर्न कुनै चासो नदिएको भन्दै सरकारलाई ‘कि न्याय दिन, कि सहज मृत्यु रोज्न दिन’ सरकारलाई आग्रह गरेकी हुन् ।

सत्याग्रही अधिकारीका छोराको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनशनरत अधिकारीको पक्षमा कानुनी सहायता गर्दै आएका मानवअधिकारकर्मी ईन्द्र प्रसाद अर्यालले ‘सत्याग्रही अधिकारीले न्याय खोजेको उल्लेख गर्दै न्याय खोज्ने मान्छेलाई अरु सबै गौण हुने’ भन्दै सत्याग्रही अधिकारीलाई न्याय दिन राज्य असफल भएको कुरा सबैलाई प्रष्ट रहेको उनको भनाइ छ ।

आमरण अनशनको ७१ औं दिन पुग्दासमेत राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारकर्मी एंव सत्याग्रही अधिकारीलाई भेट्न पुग्ने सबैले आमरण अनशन स्थगित गर्न आग्रह गर्ने गरेको भन्दै सत्याग्रही अधिकारीले न्यायको पहल गरिदिन र अनशन स्थगितको कुरा लिएर आफूलाई भेट्न नआउन समेत आग्रह गरिन ।

लामो समयको आमरण अनशनका कारण अधिकारीको स्वास्थ अवस्था जटिल बन्दै गएको छ । सत्याग्रही अधिकारीले भने न्याय नपाउँदासम्म अनशन जारी राख्ने प्रण गरेकी छिन् । शरीरमा पानीको मात्रा कम भएपछि स्लाईन मार्फत दुखाई कम गर्न पेन किलर, अत्यावश्यक इन्जेक्सन, एन्टिबायोटिक तरल औषधिको प्रयोग गरिएको भएपनि उनको शरीरमा ग्लुकोजको कमि, अनियमित रक्तचाप, मुटुको गतिमा उतारचढाव जस्ता समस्या आइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

आमरण अनशनको ७१ औं दिन पुग्दासमेत सरकारले अहिलेसम्म उनको माग पुरा गर्ने कुनै कदम चालेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *