ओली समूहको स्थायी कमिटी बैठक बस्दै, आजै प्रधानमन्त्री ओलीको राजीनामा आउने सम्भावना

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा ओली समूह) नेकपाको स्थायी कमिटीको बैठक बिहीबार पनि बस्दैछ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । ओली समूहको बुधबार बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेपछिको अवस्था बारे छलफल भएको थियो ।

बिहीबारको स्थायी कमिटीको बैठक प्रधानमन्त्रीको राजिनामामा केन्द्रित रहने बुझिएको छ । आफ्नै समूहका नेताहरुले प्रधानमन्त्री ओलीलाई राजिनामाको लागि दबाब दिएपनि प्रधानमन्त्री ओलीले राजीनामा दिन अस्विकार गर्दै आएका छन् ।

‘आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर अदालतको फैसलाको सम्मान गर्नुपर्ने आवाज जोडतोडका साथ उठाउने तयारीमा छौं ।’ ओली समूहका एक स्थायी कमिटी सदस्यले पिएलए खबर सँगको कुराकानीमा बताए ।

आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिने ती सदस्यको दाबी छ । उनका अनुसार आजै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएर अदालतको निर्णयको सम्मान गर्ने सम्भावना रहेको उनको दाबी छ ।

आजको स्थायी कमिटीको बैठकमा संसद पुनर्स्थापना भएपछिको पार्टीको रणनीतिबारे छलफल केन्द्रित हुने जनाइएको छ । यसैगरी प्रधानमन्त्री ओलीले अपरान्ह २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । त्यहीँबाट प्रधानमन्त्रीले राजीनामा घोषणा गर्नसक्ने सम्भावना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *