काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष एमबिबिएसमा शुल्क नबढाउन निर्देशन दिएका छन् ।
चिकित्सा शिक्षा आयोगले एमबिबिएसमा ८ लाख शुल्क बढाउन गरेको प्रस्तावलाई अस्विकार गर्दै प्रधानमन्त्री ओलीले कोरोना कहरले थला परेको अवस्थामा सरकारले शुल्क वृद्धी गर्दा नकरात्मक असर पर्ने भएको भन्दै यो वर्ष शुुल्क नबढाउन निर्देशन दिएका हुन् ।
वालुवाटारमा शनिबार सम्पन्न पाचौं बैठकमा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘अहिले शुल्क बढाउने कुरा नगर्नुस्, स्थगित गर्नुस् । बरु घटाउने विषयमा कुरा गर्नुस्, बढाउनु हुँदैन ।’
मुलुक कोरोना महामारीले ग्रस्त भएको बेलामा चिकित्सा शिक्षा आयोगले शनिबार यस शैक्षिक सत्र २०७७/७८ का लागि एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको थियो ।
आयोगको शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै हाल ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको शुल्क वृद्धी गरी ४८ लाख रुपैयाँ बनाउन सिफारिस गरेको थियो । आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पनि गलत सन्देश जाने भएकाले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिएका थिए ।
सिफारिस समितिले चिकित्सा शिक्षा तर्फको बिडिएस, एमडिएमएस, एमडिएस साइन्स, एमडी आयुर्वेद, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजी लगायतका विषयमा शुल्क बढाउन सिफारिस गरेको थियो ।