प्रचण्डसँगको गोप्य भेटबारे बाबुरामले मुख खोले

काठमाण्डौ – उपराष्ट्रपति निवासमा प्रचण्डसँग गोप्य भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले त्यसबारे स्पष्टिकरण दिएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत ओली प्रतिगमनविरूद्ध विरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरुप आफूले राजनीति भेटघाट गरेको बताएका हुन् ।

शुक्रबार प्रचण्ड–नेपाल समूहको नेकपाले काठमाण्डौको भृकुटी मण्डपमा आयोजना गरेको विरोध सभालगत्तै प्रचण्ड र डा. भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको थियो ।

भट्टराईले आफूले पूर्वप्रधानमन्त्री तथा दलका नेताहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग भेटघाट गरेको जनाएका हुन् । यस्ता भेटलाई निरन्तरता दिने पनि उनले बताएका छन् ।

‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ,’ उनले भनेका छन्, ‘यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ । गर्दैरहनेछु !’

उनले यो ट्वीट गरेको दुई घण्टापछि फेरि अर्को ट्वीट गर्दै संयुक्त आन्दोलनको अपिल पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ–संगठन एक्लाएक्लै आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *