पौने ८ अर्बको भोल्यूमसहित नेप्से नयाँ उचाइमा

काठमाण्डौ – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ठूलो भोल्यूम सहित नयाँ उचाइमा पुगेको छ। गत मंगलबारको सामान्य करेक्सनपछि बुधबार उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिँदै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ।

बिहीबार नेप्से परिसूचक ३१.८७ अंक अर्थात १.३६ प्रतिशत बढेर २३७४.६४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु हो। यद्यपि, यस दिन नेप्से २३७६.९३ विन्दुसम्म पुगेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स २.५९ अंक, फ्लोट इण्डेक्स २.१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०९ कम्पनीको ६९ हजार ३३३ पटकको कारोबारमा ७ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८१ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

भोल्यूमसहित नेप्से बढेका कारण लगानीकर्ताहरुको मनोबल बढेको छ। बलियो भोल्यूम सहितको परिसूचक वृद्धि बलियो नै मानिन्छ।

२० कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन नेप्से नयाँ उचाइमा पुगेसँगै १३६ कम्पनीहरुको शेयरमूल्य बढ्दा २० कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, महिला सहयात्रा लघुवित्त, ग्रामिण विकास लघुवित्त लगायतका कम्पनीहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। यस दिन शेयरमूल्य घटेका २८ कम्पनीहरुमध्ये नारायणी डेभलपमेन्ट बैंकको सर्वाधिक ६.७० प्रतिशत घटेको छ।

नेपाल लाइफको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ५३ करोड ३३ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेको इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, नेपाल टेलिकमको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१० उपसमूहको परिसूचक बढ्यो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको सूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लघुवित्तको ४ प्रतिशत, जलविद्युतको ३.७७ प्रतिशत, वित्तको २.८४ प्रतिशत र जीवन बीमाको २.७१ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

मेरोलगानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *