नेकपा विभाजनपछि ‘आलोचित’ बनिरहेका प्रधानमन्त्री यसरी भए एकाएक ‘प्रशंसित’

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि विवादित बनिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकाएक प्रशंसा गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीले हालै भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई दिएको दुई अन्तर्वार्तापछि उनी धन्यवादका पात्र बनेका हुन् । उनले अंग्रेजी र हिन्दी भाषामा अन्तर्वार्ता दिँदै नेपालको सार्वभौमसत्ता र देशहरुबीचको सम्बन्ध समान हैसियतको हुनुपर्छ भन्ने स्पष्ट अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई तारो बनाएर आलोचना गरिरहेका कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत उनको सो अभिव्यक्तिपछि प्रधानमन्त्रीको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीका कटु आलोचक रहँदै आएका चर्चित लेखक तथा चिकित्सक डाक्टर रामेश कोइरालाले ट्वीटरमा लेखेका छन्, ‘इन्डियालाई उसकै भाषामा गज्जबले डायलग दिदैँछन् ।’ उनले अर्को ट्वीटमा खुलेरै प्रशंसा गर्दै लेखेका छन, ‘इन्डियनलाई इन्डियाकै इतिहास गज्जबले पढाउँदैछन् । कामका बारेमा त अहिले नभनौं क्यारे, तर बोल्न चैँ यत्तिका सक्षम र तयारी गर्ने हाम्रो प्रधानमन्त्री चैँ मैले भेटेको थिइँन ।’

सामाजिक सञ्जाल प्रयोगकर्ता महेन्द्र राज तुलाधरले प्रधानमन्त्रीको प्रशंसा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीको अथाह ज्ञान अन्तर्वार्तामा झल्किएको छ, नेपालको शान, मान र स्वाभिमानको पक्षमा डटेर बोलेका छन्, देशको पक्षमा भारतलाई चुनौती दिएर यसरी बोल्न सक्ने नेता नेपालमा अरु छैनन्, पूर्वीय दर्शन तथा हिन्दी र अंग्रेजी भाषामा ओलीको गहिरो ज्ञान ।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘कोही छन् यत्तिको दमदार नेता छन् त केबल हाम्रो प्रधानमन्त्री केपी ओली । त्यसैले आज होइन भोलिलाई हाम्रो साथ केपी ओलीलाई ।’

इन्जिनियर सुरेन सिंह महराले ओलीको प्रशंसा गर्दै ट्वीटरमा लेखेका छन्, ‘कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म भारतको सामु आफ्नो निडर अडानका साथ आफ्नो सार्बभौमसत्ता प्रतिको सम्मान प्रकट गरेको देखिन ! जो ले जे भने पनि देशको लागि केपी बा जतिको कडा प्रधानमन्त्री कोहि छैन ।’

भावुक द इमोशनलले प्रम ओलीको हिजोको ‘अंग्रेजी र हिन्दी’ दुवै भाषाको अन्तर्वार्ता हेरेपछि बाबुराम भट्टराई र भीम रावलप्रति कडा कटाक्षा गरेका छन् । उनले बाबुरामले गरेको पिएचडीप्रति ‘टिठ’ लागेको बताएका छन् भने ‘भिम रावल’ले पिएचडी गरेको भन्ने विश्वास नै नलागेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अझै मिडियामा बोल्छन् ‘लाज’ नमानी । मार्चिसको डिब्बामा थुनिएर बसे हुन्छ ।’

ट्वीटरमा दीपेन्द्र विष्टले लेख्छन्, ‘देश भित्रको राजनीति एकछिन साइट लगाउ आज ओलीका हरेक कुरामा एक सार्बभौमसत्ता सम्पन्न नेपाली जनताको शिर उचो राख्ने शब्दहरू छन् । हामी सानोठूलो होइन समान व्यवहार चाहन्छौ हो यहि चाहन्छौ । हामी हरेक देशसँग अनि लिपुलेक हाम्रो हो स्पष्ट सुन्ने गरि भने यतिको स्पष्ट बोल्ने नेता सायदै देशले पाउला ।’

दीपेन्द्रले अर्को पनि ट्वीट लेखेका छन्, ‘सुधिर चौधरीलाइ भारतीय इतिहास पढाएर पठाए बुढाले ज्ञान चाहिँ हो मान्नै पर्छ नजानेको कुरा केही छैन । मान्छेहरू आठ फेल भन्दै उफ्रिन्छन बुढाले जति आजकल एज्म् गरेकाले पनि जानेका छैनन् होला हरेक क्षेत्रमा ।’

बुद्धिजीवी डाक्टर सूर्यराज आचार्यले लेखेका छन्, ‘भारतीय टिभि जी टिभीका पत्रकारको आग्रहपूर्ण प्रश्नमा प्रम केपी ओलीको सटिक जवाफ। नेपालको राष्ट्रिय स्वाभिमान र दुई छिमेक प्रतिको सद्भाव सहितको असंलग्न परराष्ट्र नीति स्पष्ट प्रतिबिम्बित हुने उहाँको बेजोड प्रस्तुती प्रशंसनीय छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका नेताले समेत प्रधानमन्त्रीको प्रशंसा गरेका छन् । नेता लोकेश ढकाल लेख्छन्, ‘जी टिभीको डिएनएमा कार्यक्रम प्रस्तोता सुधिर चौधरीसँग प्रम केपी ओलीको अन्तर्वार्तामा उनको प्रस्तुतिलाई म स्यालुट गर्छु । उनको सबै विचारमा सहमति हुन नसकिएला, आँफैले भनेका छन् टुटेफुटेको हिन्दी होला तर इतिहास र संस्कृतिको तथ्य सहित देशको स्वार्थमा उनको प्रस्तुति वेजोड थियो ।’

अर्का पत्रकार राजेन्द्र बानियाँले लेख्छन्, ‘प्रधानमन्त्री ओलीसङ्ग मेरा पनि हजार असहमति छन्, तर भारतसङ्ग सुन्ने गरि आफ्ना र देशका कुरा राख्न सक्ने अनि निर्धक्क बराबरीको दाबी गर्ने तपाईको साहसको तारिफ गर्दछु ।’

भारतीय टेलिभिजनमा भारतीय पत्रकारसँग निर्धक्क आफ्नो देशका बारेमा बराबरी हक र अधिकारका लागि प्रष्टसँग देशको कुरा राख्न सक्ने प्रम ओलीको विचार सराहनीय मात्रै छैन भारत भक्ति गरेर सत्ता र स्वार्थका लागि मरिहत्ते गर्ने लोभी पापी नेताहरुका लागि गतिलो झापड भएको छ ।

उनले सार्बभौमसत्ता सम्पन्न नेपाली जनताको शिर उचो राख्ने शब्दहरू बोलेका थिए । प्रधानमन्त्रीले आफूमा ज्ञान र बौद्धिकताको कमी नरहेको समेत अन्तर्वार्तामा प्रष्टसँग प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *