गंगामायाको अनशन २३ औं दिन: मानवअधिकारकर्मीको धर्ना कायमै, स्वास्थ अवस्था चिन्ताजनक

काठमाण्डौ – तत्कालीन माओवादी सशस्त्र युद्धको क्रममा आफ्ना निर्दोष छोराको हत्यारालाई कानुनी कार्वाहीको माग गर्दै सत्याग्रहमा रहेकी गंगामाया अधिकारीको १२ आमरण अनशनको २३ औं दिन पुगेको छ । आमरण अनशनको २३ दिन पुग्दासमेत अहिलेसम्म सरकारले उनको सत्याग्रह प्रति कुनै चासो देखाएको छैन ।

विगत १० वर्षदेखि सत्याग्रहमा रहेकी अधिकारीले यसपटक ‘न्याय वा मृत्यु’ भन्दै आमरण अनशन जारी राखेकी छिन् । उनको स्वास्थ अवस्था भने दिनप्रतिदिन खस्किदैं गएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सत्याग्रही अधिकारीको उपचारमा संलग्न चिकित्सक डाक्टर राम थापा क्षेत्रीका अनुसार अहिले उनको ब्लड प्रेसर सामन्य भन्दा कम छ भने मुटुको धड्कनको गति पनि निकै सुस्त रहेको जानकारी दिए ।

‘अनशनमै रहेको बेला स्लाइन चढाउन सकिएको छैन्, स्वास्थ अवस्था जुनसुकै बेला जटिल हुनसक्छ । अत्यावश्यक मेडिसिन समेत लिन अस्वीकार गरेपछि स्लाइन दिने पटकपटकको प्रयास समेत सफल हुन सकेको छैन् । नशा नै नभेटिने समस्या छ ।आइसियुमा जान उहाँले अस्विकार गर्दै आउनुभएको छ ।’ डाक्टर थापाले भने ।

सत्याग्रही अधिकारीको जीवन नै जोखिममा परेपछि मानवअधिकारकर्मी एंव अधिवक्ता ईन्द्र प्रसाद अर्यालको पहलमा उनको जीवनरक्षा र मागको सुनुवाइ गर्न सरकारलाई दबाब दिन राष्ट्रिय ट्रमा सेन्टरको बाहिरी भागमा मानवअधिकारकर्मी, द्वन्द्वपीडित र सरोकारवालाहरुले दैनिक एक घण्टा घर्ना दिदैं आएका छन् । मंगलबार पनि त्यसले निरन्तरता पायो । उनको जीवनरक्षाको लागि गम्भीर हुन् मानवअधिकारकर्मीहरुले सरोकारवाला निकायलाई सचेत गराएका छन् ।

अधिकारीको जीवनरक्षाको माग गर्दै आएका अधिकारकर्मीहरुले उनको जीवन रक्षाको साथै उनको न्यायको मागलाई यथासक्य पुरा गर्न समेत सरकारसँग आग्रह गरेका छन् । सत्याग्रही अधिकारीको अवस्थालाई लिएर सरकार, सरोकारवाला अन्य निकाय र अन्तरास्ट्रिय समुदाय समेत मौन बसेको अधिकारकर्मीहरुको ठहर छ ।

सत्याग्रही अधिकारीको जीवनरक्षाको माग गर्दै धर्नाको नेतृत्व गर्दै आएका अधिकारकर्मी अर्यालले ‘दोषीलाई कार्वाही माग गर्दै सरकारकै निगरानीमा बसेकी एक सत्याग्रहीको जीवन जोखिममा पर्ने अवस्था आउनु दु:खद भएको’ टिप्पणी गरे । ‘उनको जीवनरक्षा पहिलो प्राथमिकता भएपनि न्याय दिनु नै राज्यको प्रथम दायित्व रहेको’ उनको भनाइ छ ।

आमरण अनशनको २३ औं दिनमा समेत सरकारले अहिलेसम्म अधिकारीको अवस्था बारे केही बोलेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *