सभ्यताको टकराव रोक्ने नँया युगको आरम्भ !

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट

“सृष्टि-अस्तित्वको सार्थकतामा पृथ्वी जगतका चर/अचर सबैको समान भूमिका रहेको हुन्छ’’, भन्ने कुरालाई मध्यनजर गर्दै, सनातनदेखि चलिआएका (नामाकरण भैसकेका वा नभएका) सबै धर्म, जीवनपद्धति, रितिरिवाज, परम्परा, पूजा/अनुष्ठान, संस्कृति, सभ्यता आदिका सम्पूर्ण अवयवलाई हालको मानसिक चिन्तन एवं समाज संचालनका निमित्त अपरिहार्य व्यवहार/विचार (practicality) लाई मध्यनजर गर्दै यो दर्शन /सिद्धान्त/ नीति/ मूल्यमान्यतालाई प्रकटीकरण गर्नु नै यस शोध,अनुसन्धान, अध्ययन, चिन्तनको मूल आशय हो।

मानिसको मनको शान्ति, आत्मसन्तुष्टिको बृहत एवं सुक्ष्म सम्बोधन र सुनिश्चितता नै समाज तथा राज्य संचालनको प्रमुख मार्गदर्शक रहनेछ । सो क्रममा मानिसबाहेक अन्य सबै मानव समाजमा रहने जीव प्राणी श्रोतको संरक्षण लगायत भावनात्मक सुख/दुःख आदि बारे चिन्तन प्रणालीको परस्पर अवधारणा रहनेछ । वन/प्रकृति अथवा मानव समाज भन्दा पर रहने श्रोत, संसाधन, प्राणी, खनिज, सजीव / निर्जीव को पनि समान अस्तित्व छ र सबैको उत्तिनै महत्व छ भन्ने मूल अभिप्राय रहने छ।

‘सृष्टिको उत्पत्ति नै त्यहि एउटै मूल उर्जाको प्रकटीकरण हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अस्तित्वमा रहेका कुनै पनि अवयवलाई हराउन नदिने तथा प्रकृतिको तादात्म्यतामा सारा जगतको कल्याण, संरक्षण र सदुपयोग प्रत्येक मानवको कर्तव्य रहनेछ। यही मूल सिद्धान्त नै हरेक क्षेत्रको मार्गदर्शक रहनेछ ।

परिभाषा, व्याख्या: प्रक्कथन

हाल संसारभरि चलिआएका दर्शन सिद्धान्तहरु भन्दा अझै फराकिलो र समष्टि आयामलाई अंगिकार गर्न सक्ने सिद्धान्त नयाँ युगको माग हो। पूर्वीय र पश्चिमा भन्ने धुर्विकरणले ग्रस्त रहेको हालको विश्व परिवेशमा सभ्यताको वर्चस्वको लागि संस्कृतिको लडाई आरम्भ हुन सक्ने अनुमान, सामुएल हनटिङ्ग्टनले १९९६मा clash of civilizations नामक पुस्तकमा गरेका छन् । सो पुस्तक उनको १९९३ मा प्रकाशित सोध पत्रको विस्तृत व्याख्या थियो। जस अनुसार अब विश्वमा युद्ध, द्वन्द, क्लेष र टकरावको मुलभूत बाहाना राजनीति, अर्थतन्त्र, स्रोत साधन आदि नभएर, सभ्यता बिचको भिन्नता रहने छ। यो त ढुंगे युगमा एउटा कबिलाले अर्को कबिलासंग गर्ने व्यवहार सरहको बिचार भयो। तर कस्तो बिडम्बना ? यस्तो अशान्ति र मानव उद्बिकासलाई नै पतन गर्ने दुरावस्था बारे गरिएको अनुमानलाई विश्वका केहि बौद्धिक वर्गले वाह वाहि ! गर्नुले पनि हालको वैश्विक चिन्तनको स्तर झल्किन्छ। एस्तै चिन्तन हावी भएर होला यँहा घर, बस्ति, गाउँ, शहर, नगर, देश, महादीप र समग्रमा धर्ति नै अशान्ति र अस्थिर अवस्थामा छ। हुन त सन् १९९९मा पनि ‘सभ्यता बीचको संवाद’ (डाइलग एमंग द सिभीलाइजेसनस्) को बहसलाई मुख्य विषयको रूपमा अगाडी ल्याउन तत्कालिन इरानी राष्ट्रपति मोहम्मद खतामीले पनि धेरै प्रयत्न गरे। उनले २००१मा यस बिषयलाई थप प्रस्ट्याउँदै सोहि बिचारको विस्तृत व्याख्या गर्दै पुस्तक पनि प्रकाशन गरे। यो बिचार त्यस अघि पनि अस्ट्रियालि दार्शनिक हान्स कोख्लरले सन् १९७२ मा चिठीको माध्यमले राष्ट्र संघमा प्रस्ताव गरेका थिए। यो सब प्रयासको फल स्वरूप राष्ट्र संगले ‘अलायन्स अफ सिभीलाइजेसनस्’ नामले सभ्यता बीचको समझदारी, मैत्री भाव र संवादको थालनी पनि गर्यो। यद्यपि झन् युद्ध, हिंसा, घृणा र एक अर्कालाई नामेट पार्ने गतिविधि चुलिँदो अवस्थामा छ।

भौतिक विश्व वातावरण मानसिक अवस्थाको प्रतिबिम्ब हो। यदि मानसिकता संकीर्ण छ, र चेतनालाई, ‘म ठुलो अरु सबै सानो’ भन्ने अहंकारले छोपेको छ भने नतिजा हालको विश्व परिवेश हो। किनकि सबैलाई यँहा बाच्नको लागि आधारभूत आवश्यकता प्राप्तिको लागि दिनहुँ संघर्ष गर्न पर्ने गराइएको छ। क्षुद्र चिन्तनले ग्रस्त, मैले मात्र सबै सुबिधा उपभोग गर्न पाउँ, सबै भन्दा ठुलो मै नै रही रहुँ, म बाहेक अन्य सबै दासत्वमा होमिउन् भन्ने चिन्तनले नै प्रायको बिचारधारा बनेको छ। विश्वको ९० प्रतिशत सम्पत्तिको स्वामित्व केवल २ प्रतिशत जनसंख्याको माताहातमा छ र बाँकी १० प्रतिशतको लागि ९८% जनसंख्या लड्दै छ। २१औं शताब्दि, आधुनिक युग, सर्वश्रेष्ठ प्राणी, इतिहासको सबैभन्दा सभ्य दुनियाँ आदि मिठास घुलेको शब्दावली प्रयोग गरेर बुद्धि विलासिता गरिएको छ तर यथार्थमा निच, तुच्छ, निन्दनीय, अशोभनीय अवस्थामा हालको मानव सभ्यता छ। यस बारे धेरै जनमानसहरु सोच्न चाहने अवस्थामा पनि छैनन्। तर जतिले सोचेका छन्, केवल तेस्तै बिचारबाटै ग्रसित र आफ्नो सभ्यता नै सबैको स्वामी रहन पर्ने सङ्कुचित र दयनीय चिन्तनको अनुक्षेत्र भन्दा माथि उठ्न सकेका छैनन्।

हन्टिंगटनले सभ्यताको टकरावमा कमजोर स्तिथिमा रहेका सभ्यता यात वर्चस्व फैलाउँदै आएको सभ्यतामा विलिन हुन्छन् या आफ्नै मौलिकता तिर फर्कन्छन्, तर पनि टकराव भने अवस्यम्भावी रहेको कुरालाई नै जोड दिएका छन्। यही कुरालाई अपनाएर विभिन्न देशमा आफ्नो मौलिकता अंगालेर हिँड्ने नीति, सिद्धान्तहरु पनि बन्दै गइरहेका छन्। तर यसले पनि अन्तत्वगत्वा, मै ठूलो, मै जान्ने, मेरै दर्शन, मेरै सभ्यता मा नै सबै कुराको उत्तर छ त्यसैले मलाई नै मान्न पर्छ,भन्ने अहंकार को स्थिति मा लैजाने नै छ। र टकराव अवस्यम्भावी रहेको हन्टिंगटनको निष्कर्षलाई थप मद्दत गर्नेछ।

त्यसैले यस दर्शनले त्यस्ता कित्ताकाट त्यस्ता ढुङ्गेयुगका कबिलाहरुले राख्ने मानसिकताको चिन्तन भन्दा माथि उठाउन प्रयास गर्दैछ। यस दर्शनमा कुनै एक सभ्यताको पक्ष र अर्कोको विपक्ष पनि गरिएको छैन। सबैको अस्तित्वको रक्षा सबैले गरेर अघि बढौं भन्ने जगत कल्याणको भाव दर्शाउन प्रयत्न गरेको छ। चाहे एक इश्वर मान वा बहु इश्वर, चाहे इश्वरको अस्तित्व स्विकार्ने आस्तिक होउ या बिज्ञानलाई नै सर्वे सर्वा ठान्ने नास्तिक, सबैले मानेकै कुरा हो, एउटा मूल तत्व, मूल उर्जा, केन्द्रबाट नै सृष्टिको उत्पत्ति भएको छ । केवल आफ्नो भाषा र अभिव्यक्तिको फरक हो तर मैले भनेको मात्रै सत्य हो, मैले नै मानेको सत्यको अधिनमा सबै आउनुपर्छ भन्ने चिन्तन सबैभन्दा ठूलो समस्या हो। विश्वमा जति पनि अशान्ति, अस्थिरता, युद्ध भएका छन्, त्यही चिन्तन कै कारण भएका हुन्। प्राचीन धर्मग्रन्थ हरुलाई आधार मान्ने हो भने हरेक धर्मका प्राचीन ग्रन्थहरुमा एकले अर्काको ठाउँलाई नष्ट गरेको, लुटेको, मारेको काटेको जस्ता कलंकित घटनाहरुलाई निकै गर्व को साथमा व्याख्या गरिएको पाइन्छ। त्यही कुरालाई नै आधार मानेर अहिलेसम्म पनि अरुको अस्तित्व नामेट् पार्ने, अरुलाई परिवर्तन गरेर आफ्नो मात्र सभ्यता, धर्म, संस्कृति बचाउने, परिवर्तन हुन नमानेमा विभिन्न किसिमको अस्थिरता दंगा, युद्ध गराएर दोश्रो संस्कृति/धर्मको नाम निशान मेटाउने खेला अझै पनि चल्दैछ।

यसरी नै अगाडि बढेमा टकरावको खेला सदाका लागि चलि नै रहनेछ। एकले अर्कालाई नामेट पार्ने क्रममा पृथ्वीका सबै प्राणीको जीवन संकटमा/धरापमा पर्नेछ। यस किसिमको अस्थिरताले सबै मानव समाज आजित, हैरान, दिक्दार भएको अवस्था छ। यी कुराहरुलाई सोच्न सक्ने विचार मानव समाजमा विकसित भइसकेको छ तर सोच्ने आधार दिन कुनै दर्शन आएको छैन। प्रयासहरु त धेरै भएका छन् तर सबै clash of civilizations का मतियारहरु द्वारा लेखिएकाले आफ्नो संस्कृति र धर्मलाई नै ठूलो देखाउने अरु सबै विलिन भएर सोहि धर्म संस्कृति अनुसार अगाडि बढ्नु पर्ने विचार अभिव्यक्त भइरहेका छन्।

भौतिक कब्जा वा उपनिवेशीकरण गतार्थ भइसकेको बर्तमान अवस्थामा, सैद्धान्तिक माध्यमले वैचारिक/मानसिक जालो र पासा फ्याँकेर आफ्नो सिद्धान्त,सभ्यता र संस्कृतिलाई नै सर्वमान्य रहन पर्ने संकुचित विचारधारालाई चिरेर, सबैको अस्तित्वलाई स्वीकारेर, आफ्नो धर्म, संस्कृति, ग्रन्थ, परम्परा, चलनचल्तीमा रहेको संकीर्ण चिन्तनलाई परिमार्जन वा त्यागेर सर्वअस्तित्व सम्मानम् तथा सकल सर्वम् पथको स्थापना गर्नु नै यस दर्शनको अभिप्राय हो।

केही शताब्दी पूर्वसम्म आफ्नो आधिपत्य कायम गर्न हरेक धर्म का राजाहरु लागिपरेको कालो इतिहास त्यागेर, शान्ति, सद्भावको पथमा सबैलाई डोर्याउने लक्ष्य यस दर्शनले राख्दछ । केही कुनियत बोकेका स्वार्थी व्यक्तिहरूको कारण हरेक धर्ममा कलंक घुलेको तीतो यथार्थ स्वीकारेर आफ्नो धर्मको अतिवादी सोंच ”म सहि तिमी गलत’ ”मेरो मार्ग मात्र सत्य हो, अरु सबै पापी हो” भन्ने केटाकेटी स्तरको चिन्तनलाई सर्वोपरि मानेर नै अघि बढेमा विश्वमा कहिल्यै शान्ति छाउने छैन। यस कुराको बोधगम्य हुनु नै यस दर्शनको अभिप्राय सार्थक भएको अवस्था हो। ”मेरै बर्चस्व चल्न पर्छ”, ”मेरै विचार सर्वोत्कृष्ट” आदि चिन्तन अबको युगानुकूल पनि छैन। पूर्वीय र पश्चिमा बीच कित्ताकाट गर्ने र आफ्नो सभ्यता नै स्वामी रहने र यसै अनुरुप सबै चल्न पर्छ भन्ने मताग्रहले पनि भावी युगमा पहिचानको लडाइँ सृजना गर्ने सम्भावना राख्छ।

सबै धर्मको एउटै आधार, ‘म’ को साक्षात्कार

त्यस्तो विषम परिस्थिति एवं दुर्घटनाको कालान्तर देखि यस सृष्टि साक्षी रहँदैआएको छ। त्यस्तो निन्दित कलंकित इतिहास अब नदोहोरियोस् भन्ने हेतुले नै यस दर्शनको सान्दर्भिकता र अपरिहार्यता दर्शाउँछ । त्यसैले अबको पथ कुनै एक भाषा, धर्म संस्कृतिमा निर्भर छैन।

आदी देखि अन्त्य समेट्ने प्रयासमा सबैको एकता, सहअस्तित्व स्वीकार गर्ने र प्रेमपूर्ण पद्दतिमा अघि बढ्ने प्रेरणा दिन सक्ने पथ नै अबको निर्विकल्प हो। सर्वेकत्त्व यस्तो दर्शन हो जसमा कुनै पूर्वीय र पश्चिमा भन्ने कित्ताकाट रहँदैन, सबैको एकता, सहअस्तित्व, सहिष्णुता, सहकार्य, सहयोग, प्रेमभाव वढाउन यो दर्शनले मद्दत दिन्छ भन्ने पूर्ण विश्वासको साथ यस दर्शन प्रकट भएका हुन्। यो दर्शनको लेखनको श्रेय सबै मानव जाति, प्रजाति, धर्म संस्कृति, चलनचल्ती, परम्परामा निहित छ। पूर्व र पश्चिमको धुर्विकरणको निराकरण गर्न सक्ने पथ यस दर्शनमा छ।

यस दर्शनको मूल मन्त्र सुत्र : सर्वअस्तित्व सम्मानम्, सृष्टिसाक्षी, जगत जयते, सर्व मंगलम् /सर्व जयतम्, सर्वेकत्त्व भवतु: हो। जसको समिष्टि नै सर्वैकत्त्ववाद हो।

शाब्दिक तात्पर्य
‘सर्वे’ र ‘एकत्त्व’ मिलेर ‘सर्वेकत्त्व’ बन्छ। यसले सबै एकै हुन्, भेदभाव न होउस्, सबैको अस्तित्वको सम्मान गरेर अघि बढ्न पर्छ भन्ने अर्थ बोकेको हुन्छ। सृष्टि स्वयंलाई अवलोकन गर्दा भिन्न भिन्न प्राणी, प्रणाली, जड, सजीवले बनेको छ तर समग्रमा सृष्टि एउटै छ। इश्वर, भगवान, अल्लाह, परमात्मा आदि नामले आध्यात्म र धर्म व्याप्त छ भने विज्ञानले पनि एक बिन्दु बाटै सबै कुराको आरम्भ भएको हो, सारा जगत तेइ एउटै उर्जाको प्रकटीकरण हो भन्छ। समग्रमा सबैको एउटै मत छ तर व्याख्यामा भिन्नता। एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अहंकारी चिन्तनले नै मतभेद सृजना गरेको छ। त्यसैले सबै एकै हुन् भन्ने आधारभूत सत्यको सार नै ‘सर्वेकत्त्व’ हो। जब सर्वेकत्त्व भाव सबैले आत्मसाथ गरेर बोधगम्य हुन्छ, त्यस अवस्थामा सर्वैकत्त्व आभास हुन्छ। सर्वैकत्त्व भन्नाले सबैको एकता ।

आगामी शृंखलामा यस दर्शनको मूल सुत्रको ब्याख्या लिएर आउने छौं:

सर्वैकत्तु भवतु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *