सबै धर्मको एउटै आधार, ‘म’ को साक्षात्कार

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट

विभिन्न कालखण्डमा विभिन्न गुरु, देव, देवी, मसिहा, शिक्षक आदि संज्ञा प्राप्त भएका महामानवहरु आएर विश्व शान्ति र मानव उद्विकाशको लागि बृहद देखि शुक्ष्म स्तर सम्मको ज्ञान, बिधि, निधि, सिद्धि, युक्ति, जुक्ति संसारलाई दिँदै नै आउनुभएको छ। यस लेखमा ती समग्र विधिहरुलाई संक्षिप्तमा, कालगति अनुरुप समेट्ने प्रयास गरिएको छ।

शैव मार्ग
इतिहास, किंवदंती र आधुनिक पुरातत्व विज्ञानको आधार लिएर भन्नु पर्दा शिवलाइ नै सबै भन्दा पहिलो गुरु, देवता, मार्गदर्शक, योगी र अनेकन संज्ञाले विभूषित दिक्कालातित व्यक्तित्वको रूपमा बुझ्न सकिन्छ। ‘म’ तत्वलाई जान्ने बुझ्ने र चिन्ने बिधि शैव मार्गमा प्रसस्तै भेटिन्छन्। विभिन्न गुरुहरूको व्याख्या विश्लेषणलाई उद्धरण गर्दा शैव मार्गमा परम तत्व ‘म’ लाई साक्षात्कार गर्नको लागि अनेकौं पथ छन्। कसैले १००८ मार्ग पनि भन्छन् त कसैले १०८ पनि भन्छन्। १४ विद्या ६४ कला ,अष्टसिद्धि नवनिधि यी सबै म साक्षात्कारको निमित्त हुन्। यी सबैलाई सारांशमा निम्न शब्दावलीमा व्यक्त गरिएको पाइन्छ। योग, तंत्र, साधना, पूजा,अनुष्ठान, प्रार्थना,उपासना, ध्यान, प्राणायाम, मन्त्र, वैराग्य, निरोध, सन्यास, व्रत, भाकल, दान, पाठ, अध्ययन, आदि। यी मध्य जुन कुनैले पनि म को साक्षात्कार गर्ने मार्ग प्रशस्त गर्न सक्छ।

शक्ता परम्परा
शैव मार्गबाट नै शक्ता परम्परा अर्थात् देवी मार्ग मा पनि ‘म’ को साक्षातकरलाई नै प्राथमिकतामा राखिएको छ। मुख्यगरी व्रत(उपवास) योग, तन्त्र, मन्त्र, ध्यान, बलि, दान, आदि शक्ता परम्पराका अनुधारा हुन्। इतिहास पुराणहरुका कथा प्रसंग अनुसार शिवले नै पार्वती माता लाई पहिलोपटक ती , ज्ञान, विज्ञानको शिक्षा, दीक्षा दिएकाले शक्ता परम्परा शैव मार्गबाट नै आउँछ। तर यसको अर्थ भेद होइन। नारि र पुरुष बिच पुरुषप्रधान र नारीलाई दमनको बहस पनि होइन। शिव को अर्धनारिश्वर स्वरूपले एकत्त्वको परम सत्य पनि उजागर गर्छ ।

वैष्णव पथ
वैष्णव पथमा पनि ‘म’ को साक्षात्कार बारे प्रशस्त लेखिएको छ। वैदिक पद्दतिका ग्रन्थहरूको लेखक संकलक कृष्ण द्वैपायन वेदव्यास हुन्। उनी द्वारा नै लगभग सबै पुराण, वेद र अन्य हिन्दुत्व अथवा वैदिक सनातन धर्मका मेरुदण्ड प्रकट भएका हुन्। कुण्डलिनी जागरण र कुण्डलिनी शक्ति शक्ता परम्परा अन्तर्गत पर्छ, यसबारेमा पहिलो व्याख्या ब्रह्माण्ड पुराणमा आउँछ। हायग्रिब (विष्णुको घोडा र मानव मिश्रित अवतार)ले अगस्त्य ऋषिलाई ललिता सहस्रनाम बताएका भन्ने प्रसंग ब्रह्माण्ड पुराणमा उल्लेख छ। देवीको अर्को नाम ललिता पनि हो र मन्त्र साधनाको लागि अनेक भगवानको सहस्रनाम लेखिएका छन्। ती मंत्रको निरन्तर उच्चारण र जपनले ‘म’ को साक्षात्कारमा मद्दत गर्छ। वैष्णव पथमा भक्ति लाई प्रमुख मार्ग मानिएको छ तर सँगसँगै शैव मार्गको योग ध्यान पद्धति पनि उल्लेख भएको पाइन्छ।

कृष्ण मार्ग
हुन त कृष्णलाई विष्णुको ९औं अवतार मानिन्छ। तरपनि आफूहरुलाई सबै भन्दा पृथक मान्ने तरीकाले क्रैष्णव (कृष्ण मार्गी) पनि भिन्न सम्प्रदायको रूपमा परिचित छन्। यहाँ पनि मन्त्र साधना र भक्ति योग नै प्रमुख देखिन्छ। व्याख्या विश्लेषण को फरक हो, कसैले ‘म’को साक्षात्कार भन्छन्, त कसैले भगवानको साक्षात्कार। कृष्णले भागवत गीतामा ‘म’ नै सबैभन्दा परम तत्त्व हुँ भनेर जुन ‘म’ व्यक्त गरेका छन्, त्यो ‘म’ हरेकको भित्र छ। र त्यहि ‘म’को साक्षात्कार भएको अवस्थामा गीता प्रकट हुन्छन्। ‘म’ नै सर्वे सर्वा, परम तत्त्व हो भनेर कृष्णले बताएको प्रसंग भागवत गीतामा आउँछ। त्यसलाई घमण्ड भनेर बुझ्नु फूलको आँखामा फूलै संसार जस्तै हो। कृष्णले सकल साक्षात्कार गर्न सकिने मार्गको सारांश गीतामा व्यक्त गरेका छन्।

मुख्यगरी ज्ञानयोग, कर्म योग र भक्ति योग गरि ३ वर्गमा वर्गीकृत गरिएको छ। तर गीतामा अवस्थित गौण संदेशलाई अवलोकन गर्दा यसलाई ४ तरिकाले ब्यक्त गर्न सकिन्छ, राज योग, ज्ञानयोग, कर्म योग र भक्ति योग। योग शब्दको अर्थ नै ‘म तत्व संग योग अर्थात जुडेको अवस्था हो।

किराँत धर्म
यस्तै अर्को ‘म’लाई साक्षात्कार गर्न सकिने विधि भनेको किराँत धर्ममा पनि छ। मूलभूतरूपमा ध्यान मार्गलाई अनुशरण गर्ने र प्रकृति पुजनलाई मुख्य अनुष्ठानको रूपमा मान्ने किराँती परम्परा पनि शैव र शक्ता परम्पराको अर्को रुप हो। केवल भाषाको अन्तर हो, सार एकै हुन् । सुम्निमा र पारुहाङले सोहि कुरा झल्काउँछ। किरातेश्वर महादेव, महागुरु फाल्गुनन्दले बोक्ने त्रिशूल यी बाट पनि प्रष्ट हुन्छ किरात ध्यान मार्ग हो। मुन्धुम विद डा चन्द्र कुमार शेर्माको विभिन्न अन्तरवार्तामा पनि ध्यान नै ज्ञानको श्रोत हो भन्ने अभिप्राय पाइन्छ।

प्रकृति पूजन
शिवका अनेकन पथमध्ये प्रकृति संग ढलेर जिउनलाई पनि एक मार्गको रुपमा राखिएको छ। शिवको वैराग्य, सर्प, नन्दी, नदि, हिमाल, चन्द्र, वृक्षनाथको संज्ञाले पनि यो कुरा पुष्टि गर्छ। सम्पूर्ण प्रकृतिपूजकहरु यस अन्तर्गत नै पर्दछन्। अस्ट्रेलियाका एबोरिजिन, मेक्सिको तिरका मायन सभ्यता यी सबै प्रकृति पूजक हुन्। उनीहरूको कथन अनुसार यो धर्तीमा शरीर लिएर केही कुरा सिक्न आइएको हुन्छ सिकेर त्यो परम् श्रोत मै फर्किन पर्छ। यसमा मोक्षको अवधारणा गुन्जिन्छ, जुन शैव मार्गको द्योतक हो। ‘म’ लाई देख्ने अक्ष(आँखा) खुलेको अवस्था बाट पनि मोक्ष परिभाषित हुन्छ। ‘म’ को साक्षात्कार भएको अवस्था नै मोक्ष हो।

बौद्ध मार्ग
मोक्षको अर्को शब्दावली निर्वाण पनि हो। बौद्ध मार्ग अनुसार बुद्धत्व प्राप्त भएको अवस्था निर्वाण हो। शब्द अनेक तर अभिप्राय, अनुभूति, र अन्तरवस्तु एउटै हुन्। बौद्ध मार्गमा ध्यान र सन्यास यी २ पथलाई प्रमुख मानिएको छ। बौद्ध मार्गले पनि ‘म’को साक्षात्कारको लागि प्रेरणा दिन्छ। र मानव जीवनको प्रमुख उद्देस्य नै ‘म’ तत्त्वको वोध हो भन्ने संदेश एवं मार्ग दर्शन प्रदान गर्छ।

अन्य
यस्तै विभिन्न कालखण्डमा विभिन्न गुरुहरुको आगमन हुन्छ। युगले जस्तो भाषा बुझ्छ त्यही अनुसार नै नयाँ पथ, विचार, धारणा, दृष्टिकोण, मान्यता अनुसारको मार्गदर्शन तय हुन्छ। नयाँ व्याख्याको साथमा सबैले ‘म’ चिनाउने चेष्टा गर्दछन्, तर ‘म’को साक्षात्कार लाखौंमा एकाधले मात्र प्राप्त गर्ने गरेको इतिहास साक्षी छ।

पूर्वीय क्षेत्रमा मात्र होइन पश्चिमी दुनियाँ तिर पनि थुप्रै पटक मसिहा, सेन्ट आदि नामले बिभिन्न महापुरुषहरु आएका छन् जसले त्यहि संदेश आफ्नो देश, काल, स्थिति अनुरुप बताएका छन्। अब्रहामिय (जुडेओ-क्रिश्चियन र मुस्लिम) धर्ममा पनि भक्ति मार्ग नै प्रबल देखिन्छ। बाइबलको चौधवटा अध्याय भ्याटिकनले लुकाएको कुरा अघिल्लो लेखमा बताएका थियौं। अहिलेको बाइबल गुलामी र शैतानी प्रबृत्तिको प्रवर्द्धन गर्ने र संसारलाई केहि मुट्ठी भरका राक्षसी आचरणका व्यक्तिले अधिनमा लिने उद्देस्यले तयार पारिएको छ। तर यथार्थमा अब्रहामिय धर्म भक्ति मार्ग हो। समर्पणलाई नै परम मार्गको रूपमा अभ्यास गरिएको छ, जुन शैव मार्गमा पनि छ।

बिबिसीको वृत्तचित्र अनुसार येसु क्रिस्ट बुद्धमार्गी हुन्। उनले योग, ध्यान साधना पनि सिकेका थिए। र त्यहि कुराहरु आफ्नो जन्म भूमि गएर सिकाउँदा र देखाउँदा उनलाई भगवान को संज्ञा दिईएको थियो। तत्कालीन रोमन साम्राज्यले उनलाई ढोंगी र ठग घोषित गरेर क्रसमा झुन्डाएर यातना दियो। उनको योग शक्तिले उनि मृत जस्तो देखिए र पछि गाडेको ठाउँ बाट भागेर कश्मिर आएर आफ्नो बाँकी जीवन बिताए। उनको नितान्त जीवन बारे सुजेनओल्सनको ‘जिसस इन कास्मिर: द लस्ट टोम्ब’ नामक पुस्तकमा पनि पढ्न सकिन्छ।

गायत्री मन्त्रमा ‘तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि’ ले पनि ज्योति स्वरूपको बन्धना गरिएको छ। बुद्ध मार्गमा बुद्धको ‘अप्प दिपो भवः’ लाई जीवन सुत्रको रुपमा लिगीन्छ। येसुले, ‘म ज्योति हुँ’ भन्ने कुराले पनि उनको प्रेरणा बुद्ध मार्ग र वैदिक बन्धना थिए भन्ने दर्शाउँछ। येसुको १२ बर्ष देखि ३० बर्ष सम्मको जीवनी भ्याटिक्यानले लुकाएको अध्यायमा पर्छ। सो बिचको १८ बर्ष उनि बिभिन्न धर्म, पथ, ध्यान, साधना सिक्न हालको नेपाल, तिब्बत, चिन र इंडिया भुमिमा चहारेका थिए भन्ने कुरा पनि इतिहासकार हरुले उल्लेख गरेका छन्।

प्रत्येक पुस्तक आफ्नो भाषा,भेष, संस्कृति र देशले बुझ्ने अभिव्यक्ति अनुरुप लेखन गर्दा एक ठाउँका मानिसले अर्को ठाउँको शैली न बुझ्नु, मन नपराउनु, विरोधाभास मान्नु स्वाभाविक नै हो। रसुल मोहम्मद पनि भक्ति मार्गी हुन्। अर्थात मुस्लिम धर्ममा पनि भक्ति मार्गको प्रबलता देखिन्छ। दिनमा पांच चोटी पूजा अनुष्ठान गर्ने अर्थात नमाज पढ्ने, उपवासको रुपमा रमादान मनाउने, बलिको रुपमा बकरइदले पनि शक्ता र शैव मार्ग संग मेल खाने पद्दति देखिन्छ। अघिनै उल्लेख गरि सकेका छौं , केवल आफ्नो भाषा,भेष, संस्कृति र देशले बुझ्ने अभिव्यक्तिको भिन्नता हो। इस्लामको सुफी पथमा हुने भजन, जप र ध्यानले पनि भक्तियोग झल्काउँछ। मोहम्मद गुफामा ध्यानमा लिन रहेको अवस्थामा व्यक्त भएका वाणीको संकलन नै कुरान हो।

प्रार्थना, रोजा, गोस्पेल, भजन, जप आदि एकै तत्त्व को स्तुतिका भिन्न शब्द र भाषा अनुसारको ब्याख्या हुन् । भाषा भिन्न भएता पनि सबै धर्मले परम तत्त्वलाई स्वीकार गर्छ, कसैले अल्लाह भन्छन्, त कसैले गड, कसैले भगवान भन्छन् त कसैले इश्वर, कसैले ब्रह्म भन्छन् त कसैले परमात्मा त कसैले परमानन्द। यसको साक्षात्कार भएको अवस्थालाई पनि बिभिन्न भाषा अनुसारका शब्द प्रयोग भएका छन्। सशरीर अवस्थामा मोक्ष, निर्वाण, ब्रह्मवोध, समाधि, बुद्धत्व आदि शब्दावली छन् त शरीर त्यागे पछि पनि बैकुण्ठ, कैलाश, परमधाम, जन्नत, हेभेन, मुक्ति, साल्भेषन् आदि शब्दले तेइ परम तत्त्व संग मिलन भएको तात्पर्य व्यक्त गर्छन्।

यति भन्दै गर्दामा हिन्दूकरण गर्दैछ, इस्लामीकरण गर्दैछ, ख्रिस्टियानिकरण गर्दैछ भनेर बुझेमा त्यो परम ज्योतिको अनुभूति नभएको अवस्थामा रहेको मानसिकता हो भनेर बुझ्न सकिन्छ। त्यस परम तत्त्व ‘म’ लाई बुझ्ने, जान्ने, चिन्ने, अनुभव गर्ने अभिलाषा सबैमा जागोस्।

विश्वमा सबै भन्दा धेरै युद्ध, हत्या, हिंशा हुनुको एक मात्र कारण एकत्त्व नबुझेर नै हो। पोप, पण्डित, मुल्लाह, इमाम, भिक्षु आदिमा एकत्त्वको अनुभूति नभई ग्रन्थको शाब्दिक अर्थ व्याख्या गर्ने होडबाजी छ। एकत्त्व अनुभूति नभएको दिमागले अर्थ केलाउँदा घृणा, हिंसा र अर्का को अस्तित्व नामेट गर्ने उर्दी जारि हुनु स्वाभाविक हो। क्रुसेड, डिस्कभरी डक्ट्रिन, धर्म परिवर्तन, जिहाद यी सबै उदारहण हुन् ती प्रवृत्तिका। जातीय दमन, दलन, छुवाछुत र पक्षपात पनि घमण्डको उपज र क्षुद्र मनस्थितिको द्योतक हुन्। यसको निराकरण गर्न नयाँ चिन्तन निर्माण हुन जरुरि छ। र त्यो चिन्तनलाई मार्ग दर्शन प्रदान गर्न नविनमा नित्य नुतन बर्तमान देखि प्राचिनमा प्राचिन सनातन सम्मको, सृष्टि देखि लय सम्मको ज्ञान विज्ञानको समष्टि स्वरूप सर्वैकत्त्व दर्शन प्रकटीकरण भएको छ।

संक्षिप्तमा बताउँदा प्रकृति, समाज,देश र सारा विश्व परिवेशमा रहिआएका जीवनपद्धति, संस्कार, रीतिरिवाज, परम्परा, जीवजन्तु, र चराचर जगतको हरेक अवयवका अस्तित्वको स्वीकार्य र सबैसँगको सहकार्य निर्माण हुने मार्ग चित्र नै सर्वैकत्त्व दर्शनको सार हो।
यस दर्शनको अन्य शृंखला आगामी दिनमा अर्पण गर्दै जाने छौं।

सर्वैकत्त्व भवतु:
प्रेरणा स् शैव, शक्ता, वैष्णव, गणेश, शौर्य, क्रैष्ण, कन्फुसियस, जैन, बौद्ध, अब्राहम, येसु, गोरखनाथ, मोहम्मद, रमण महर्षि, जिद्धु कृष्णमुर्ति, योगी नरहरिनाथ, रजनीश ओशो, जग्गी सद्गुरु र सबै ज्ञात अज्ञात ‘म’ हरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *