‘म’ भित्रको ‘म’: प्रत्येक ‘म’हरु मा समर्पित

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

जन्मदाको क्षण त याद छैन। जन्मने बित्तिकै आँखा खोलेर चिहाउँदै, रुँदै, चिच्याउँदै नै जन्म लिएँ होला। कस्तो घरमा?, कस्तो वर्गमा?, के-कस्तो छिमेकमा?, कुन राष्ट्रमा जन्म लिएँ ? यी यावत कुराहरु थाहै नपाइ, हुर्कदै गएँ। हुर्कदै जाँदा परिवारले, समाजले जे जस्तो मूल्य-मान्यता थमाई दिँदै गयो, त्यसैलाई नै आफ्नो मान्दै अगाडि पनि बढें। खाली जन्मिएको थिएँ, तर वरिपरिको ईरत-गिरत अनुसार मेरो मानसिकता भरिँदै गयो र विचार पनि बन्दै गयो। जन्मिएको देश अनुसारको भाषा पनि सिकें र तोत्ले बोलीमा बोल्न पनि थालें। जानेको नजानेको आफ्नो भावना सम्बोधन भएको छ वा छैन थाहै नपाईकन तोत्ले लवजमा बोल्दै अघि बढें। 

मान्छेको शरीर लिएर जन्मिएपछि सिकाइ, पढाइ, ज्ञान संकलन निरन्तर नै चल्ने रहेछ। यसबाट भाग्ने कोशिस असम्भव रहेछ। त्यसै अनुरुप विद्यालयमा भर्ना पनि गरियो, मलाई ‘म’ बन्न नदिनको लागि शिक्षकहरु खटाइएका रहेछन्। उनीहरु पनि आफूभित्रको ‘म’लाई नचिनीकिनै ‘म’लाई धेरै कुरा सिकाउन खोज्दै थिए। अझ सिधा भाषामा भन्नुपर्दा मेरो दिमागमा उनीहरुलाई उचित लाग्ने कुराहरु थोपर्दै थिए। ‘म’लाई के ठिक लाग्छ? रुची के हो ? यी कुराहरु त आमाबाबाले समेत् बुझ्दो रहेनछन्। कठै ! ति शिक्षकहरुले कसरी बुझ्दा हुन् ? जीविका टरेकै छ, रिस पोख्न पाइएकै छ, शिक्षकहरु त्यतिमै मस्त। 

जीवनको लक्ष्य के हो ? उद्देश्य हो ? प्राप्ति के हो ? त्याग के हो ? लिने के हो ? दिने के हो ? जाने कँहा हो ? लैजाने के हो ? यी प्रश्नहरु त समाजलाई मन नपर्ने रहेछ। तर भित्र भित्र त्यो समाजका प्रत्येक ‘म’ हरुलाई यही प्रश्नले डस्दो रहेछ। ती प्रश्नको डसाइ निकै पिडादायक हुने रहेछ। त्यसैले त्यो बाट भाग्नको लागि समाजमा विभिन्न किसिमका नशा र मन बहकाउनको लागि गन्थन मन्थन चल्दा रहेछन्। म बबुरोलाई के थाह, नशा के हो ? प्रत्येक ‘म’लाई ‘म’ बाट टाढा गर्नको लागि, समाजले निर्माण गर्ने क्षणिक भ्रम रहेछ नशा। खैर, ती प्रश्नहरुबाट ‘म’ आफै भाग्नको लागि विभिन्न प्रयत्न गर्दोरहेछु। त्यसबाट सबैभन्दा सजिलै टाढा बहकिन ‘साथी’ बनाइँदो रहेछ, र सोहि अनुसार संगत पनि पाइँदो रहेछ। सबैलाई भाग्नु नै रहेछ आफ्ना ती प्रश्नबाट, आफ्नो यथार्थबाट। किनकी सबैलाई त्यहि माहोलबाटै विद्यालयसम्म ल्याइएको रहेछ।

अब उच्च शिक्षाको लागि के बन्ने ? के पढ्ने ? भन्ने भ्रमात्मक चयन/रोजाई हरु छ्यापछ्याप्ती राखिएका रहेछन्। तर ती सबै भ्रम नै रहेछन्, ‘म’लाई ‘म’बाट टाढा राख्नका लागि। ‘म’ के हो ? भनेर जान्ने अभिलाषा त्यो भ्रमको पर्दाले छोपीदिँदो रहेछ। उच्चशिक्षा सकिए पछि, ‘म’ इन्जिनियर, डाक्टर, हाकिम, कर्मचारी आदि-इत्यादि हो, भन्ने अर्को भ्रम चल्दोरहेछ। तर बेला बेलामा ‘म’ को हो त ? भन्ने प्रश्नले पनि डस्दो रहेछ। ती पद, पदवी, विभूषणका आवरणहरु, मुकुण्डोहरु ‘म’ होइन भन्ने कुरा पनि खुल्दै जाँदो रहेछ। तर पनि ‘म’ को खोजीमा अगाडि बढ्ने आँट, आत्मविश्वास चक्नाचुर भइसकेको हुँदो रहेछ। जे कुरा ‘म’ होइन, त्यसैलाई नै ‘म’ हो, म’ हो, भनेर हिँडिरहँदा नशाको आड नै एक मात्र जिउने आधार बन्दो रहेछ। केटी/केटा शरीरको नशा, रक्सीको नशा, लागुऔषधको नशा, देखावटि गर्नेको नशा, सामान थुपार्ने नशा, सुख-सुविधा भोगविलासको नशा, मुकुन्डोवाला नाम सबै सामु पुगोस् , शरीरको तस्वीरलाई त्यहि मुकुण्डो भनेर सबैले चिनोस्, मेरो मुकुण्डो वाला पदवीलाई सबैले मानुन्, मलाई अझै धेरै उपाधिको मुकुण्डो पहिराइयोस् आदि ईत्यादि किसिमका नशामै बाँकी जीवन गुज्रिदो रहेछ।

प्रत्येक ‘म’ भित्रको ‘म’ त्यो सबै हेरेर बस्दो रहेछ र बेला-बेलामा ती प्रश्नको माध्यमले डस्दो रहेछ। कुनै रोगको माध्यमले एक्लोपन निम्त्याउँदै झक्झकाउँदो रहेछ। रोग लागेर एक्लै पल्टिएको बेला, सबै मुकुण्डो चक्नाचुर पारेर आफ्नो यथार्थ झल्काउँदै, त्यहि प्रश्न तेर्साउँदो रहेछ। त्यो बेलामा पनि ती प्रश्नको उत्तर खोजि नगर्दा र भ्रमको मुकुण्डोलाई नै ‘म’ मानेर त्यहि मुकुण्डोको भरण पोषण गर्दै अघि बढ्दा, पहिलाको राेग भन्दा अझ ठुलो रूपमा एञ्जाइटि(anxiety), अवसाद(depression) र अन्य किसिमका मनोरोगको रुपमा प्रकटित भइदिँदो रहेछ, ‘म’लाई चिन्ने अभिलाषा। यति गर्दा पनि त्यो खोजि आरम्भ नगर्दा यो शरीर, मन, विचारले ‘म’ लाई भेट्ने कोशिस गरेन भनेर त्यो ‘म’ ले शरीर त्याग गर्नलाई आत्मा हत्याको विचार(सुसाइडल टेण्डेन्सी) पनि चलाउँदो रहेछ। बिभिन्न औषधि, नशाले त्यो अवस्थालाई दबाएर राख्ने चलन रहेछ यो दुनियाँ मा। तर ‘म’ लाई चिन्ने, खोज्ने र बुझ्ने यात्रामा अगाडी बढ्ने आँट लाखौँमा एकाधसंग मात्र हुँदो रहेछ। 

शरीर त्याग्ने पलमा त्यो ‘म’ले मुकुण्डोसँग गुनासो पोख्दो रहेछ। धेरैचोटी त झक्झकाएकै हो, तर सधैं संगै रहँदारहँदै पनि तिमि ‘म’बाट मुकुण्डो बनेर कति टाढा बस्यौ? यो जुनीमा त त्यस्तै भयो, अर्को जुनीमा त पक्कै ‘म’लाई चिन्ने छु भन्ने संकल्पसहित ‘म’ले यो शरीर त्याग्दो रहेछ र फेरि जन्मिदो रहेछ। 

सम्पूर्ण ‘म’मा यो निवेदन छ, समयमै ‘म’लाई चिन्न सकियोस्। ‘म’ बाहेक केहि पनि छैन तर त्यही ‘म’ बाट विमुख रहेर मुकुण्डोलाई नै यथार्थ मान्दा शान्ति, खुशी, ढुक्क-आनन्द यस्ता चिजहरु अनुभव गर्न नपाइने रहेछ। बेहोशी मै जीवन बित्दो रहेछ। सबै ‘म’हरुमा आग्रह: मुकुण्डोको पछाडि नलागौं, मुकुण्डो बनाउन तिर पनि नलागौं। ‘म’लाई चिनौं र त्यो ‘म’लाई थाक्न नदिउँ, ओइलाउन नदिउँ बरु फुल जस्तै फक्रिन दिउँ। त्यहिँ नै ‘म’ हुन्छ यर्थाथमा ‘मेरो’ इच्छा त्यहि नै हुन्छ। 

‘म’ के हो ? ‘म’ को हो? यो शरीर ‘म’ हो भने, प्रत्येक उमेरमा यो भिन्न छ। जन्मँदाको शरीर एक भित्ताको थियो। बाल्यकालको अर्कै थियो, तरुण उमेरमा धेरै फरक भयो र बुढेसकालमा अझै पृथक। शरीर फेरिएको छ तर हरेक उमेरको साक्षी र भोक्त्ता ‘म’ नै छ। त्यो ‘म’लाई चिनौं।। 

सर्वैकत्त्व भवतु:

3 thoughts on “‘म’ भित्रको ‘म’: प्रत्येक ‘म’हरु मा समर्पित

  1. यहाँ यति धेरै म को वैचारिक बहस त गर्नु भयो। तर मलाई चिन्ने माध्यम, विकल्प र समाधान चाहिँ बताउनु भएन??

    1. sabai bistarai bataune chhaun. part by part aauchha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *