काठमाण्डौ – बिरामीहरुको उपचारमा प्रयोग हुने केही औषधिमा आत्मनिर्भर हुने गफ लगाइए पनि अहिलेसम्म नेपाल औषधिमा आत्मनिर्भर हुने कुरा केवल गफमै सिमित छ ।

विभिन्न ३० प्रकारका औषधिमा नेपाल आत्मनिर्भर भएको औषधि उद्योगीका बाबजुद पनि नेपाल अहिलेसम्म कुनै औषधिमा आत्मनिर्भर भएको भने देखिंदैन ।
पहिलो कुरा नेपालका औषधि उद्योगीले कच्चा पदार्थ आयात गर्दा कुनै मापदण्ड पूरा गर्नुपर्ने बाध्यकारी व्यवस्था नहुँदा नेपालमा औषधिका लागि चाहिने गुणस्तरीय कच्चा पदार्थ आयात नहुने जोखिम छ तर, तयारी औषधि आयात गर्दा भने सबै मापदण्ड पूरा गरिने हुनाले विदेशी औषधि गुणस्तरीय र सुरक्षीत मानिन्छ ।
विश्व स्वास्थ संगठन (WHO) का अनुसार औषधिको लागि कच्चा पदार्थ खरिद गर्दा WHO ले तोकेको मापदण्डअनुसार प्रमाणित गरेको कम्पनीबाट मात्रै खरिद गर्नुपर्नेमा नेपाली औषधि उत्पादकहरुले भने त्यो मापदण्डअनुसार खरिद गरेको पाईदैन ।
विदेशबाट गुणस्तर समेत प्रमाणित नभएको कच्चा पदार्थ आयात गरेर उत्पादन गरिएको औषधिको मूल्य भने विदेशी औषधि भन्दा महंगो छ । गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउँदा पाउँदै जो कसैले पनि गुणस्तरको विश्वासिलो प्रमाण नभएका भनिएका नेपाली औषधि किन प्रयोग गर्ने ? स्वभाविक प्रश्न उठ्छ ।
औषधिमा आत्मनिर्भर हुने नाममा सस्तो र गुणस्तर प्रमाणित औषधिको आयात रोक्नु उपभोक्ताको अधिकार हनन गर्नु पनि भने अर्कोतिर विश्व व्यापार संगठन (WTO) ले अवलम्बन गरेको निति नियमको विरुद्धको काम समेत हो ।
आत्मनिर्भर अर्थतन्त्रको नाममा विदेशबाट प्याकेजिङ कच्चा पदार्थ आयात गरेर औषधि उत्पादन गरी आत्मनिर्भरको गफ दिनुभन्दा नाजायज कुरा के हुन सक्ला ? औषधिको व्यापारमा आफ्नो सिण्डीकेट कायम गर्नु भन्दा अर्को केही हुन सक्दैन् ।
एक अध्ययनका अनुसार नेपालमा औषधिको वार्षिक कारोबार ५५ अर्बभन्दा माथि छ । ५५ अर्बभन्दा माथिको बजारलाई नियन्त्रणमा लिन फैलाइएको हल्ला मात्रै हो औषधिमा आत्मनिर्भरको नारा पनि । अन्यथा नेपाल औषधिमा आत्मनिर्भर हुने बाटो भनेको जडिबुटीको उचित संरक्षण, उत्पादन, प्रशोधन र सम्बर्द्धन भन्दा अर्को बाटो नेपालका लागि औषधिमा आत्मनिर्भर हुने कुरा नियोजित हल्ला सिवाय केही होइन ।
नेपालमा अहिलेसम्म औषधिको व्यापार केवल नाफामुखी मात्रै छ । १००० प्रतिशत भन्दा धेरै फाइदाजनक व्यापार हो, औषधिको व्यापार । ३०० प्रतिशतसम्म बोनस दिने कम्पनी नेपालमै छन् । यसका साथै डाक्टरको कमिसन, बोनस, मार्केटिङ कष्ट र औषधि उत्पादक तथा अस्पताल र डाक्टरका बीच तारे होटलमा हुने कार्यक्रमको कष्ट समेत उपभोक्ताबाटै असुल गरिन्छ ।
कुन औषधिमा नेपाल आत्मनिर्भर भएको भन्ने आधार पनि नेपालमा गजबको छ । एउटै उत्पादन नेपालमा १० भन्दा बढी कम्पनीले गर्छन् भने त्यो उत्पादन पर्याप्त हुने औसधि उद्योगीको मापदण्ड छ । स्वास्थ मन्त्रालय र औषधि व्यवस्था विभागले भने अहिलेसम्म कुनै ठोस मापदण्ड तय गरेको छैन् । अप्रत्यक्ष रुपमा औषधि उद्योगीको तर्कमा मौन समर्थन गर्नु बाहेक ।
यदि नेपाल औषधिमा साँच्चै आत्मनिर्भर हुने हो भने अन्तर्राष्ट्रिय स्तरको औषधि उत्पादन गर्दै अन्तर्राष्ट्रिय स्तरकै मूल्यमा समायोजन गर्ने हो भने आत्मनिर्भर हुन असम्भव भने छैन् । अन्यथा औषधिमा आत्मनिर्भर हुने नाममा गुणस्तर प्रमाणित नभएका कच्चा पदार्थबाट बनेका औषधिको प्रयोग गर्न उपभोक्तालाई बाध्य पार्नु भनेको उपभोक्ताको जनस्वास्थ्य माथिको खेलवाड मात्रै हुन जानेछ ।
औषधिमा आत्मनिर्भरको गुलियो नारालाई छोडेर WTO को मापदण्डअनुसार नेपाली जनताले खुल्ला प्रतिस्पर्धाबाट सस्तो मूल्यमा गुणस्तरीय औषधि पाउनु नेपाली जनताको अधिकार हो । आत्मनिर्भरको नाममा नेपाली जनताको स्वास्थमाथि खेलवाड गर्ने अधिकार कसैसँग छैन् । बरु आम उपभोक्ताले एलोप्याथिक औषधिको प्रयोग कम गर्दै आयुर्वेदिक औषधिको प्रयोग बढाउने हो भने औषधिमा आत्मनिर्भरका साथै आम नागरिकको स्वास्थमा पनि उल्लेख सुधार हुनेछ ।