हामीकहाँ राष्ट्रिय जनावर गाईको समेत उचित सम्मान छैन्: हरि प्रसाद जोशी कार्यकारी निर्देशक एनिमल नेपाल

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन लागेको हाम्रो जस्तो देशमा संवैधानिक नागरिक अधिकारको संरक्षण र पालनामा सरकार उदासीन बनिरहेको वर्तमान समयमा ‘पशु कल्याण’को क्षेत्रमा काम गरिरहेको ‘एनिमल नेपाल’का कार्यकारी निर्देशक हरि प्रसाद जोशीसँग पिएलए खबरका लागि तुलसी नेपालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौँ । 

एनिमल नेपाल कस्तो संस्था हो ? यो कहिले स्थापना भएको हो ? 

एनिमल नेपाल नामले नै यो पशु कल्याणको क्षेत्रमा काम गर्ने भन्ने स्पष्ट छ । एनिमल नेपाल सन् २००९ देखि सञ्चालनमा छ । पशुलाई पनि मानिसको जस्तै पीडा हुन्छ, मानिसजस्तै पशुलाई पीडा हुन्छ ।

प्राणीहरुमा सबैभन्दा उत्तम प्राणी मानिसलाई मानिन्छ । त्यसैले पशुको संरक्षण गर्नु र पशुको कल्याण गर्नु पनि मानिसकै दायित्व हो भन्ने बोध गराउनु हाम्रो उद्देश्य हो । यही क्षेत्रमा सक्रियसाथ काम गर्दै आइरहेको छ ।

पशु कल्याणसम्बन्धी नेपालमा के कस्ता कानून विद्यमान छन् ? त्यसमा कति सुधार आवश्यकता छ ? 

निकै महत्वपूर्ण प्रश्न सोध्नुभो, धन्यवाद । सन् २००९ मा ’एनिमल नेपाल’ स्थापना हुँदा नेपालम पशु कल्याणसम्बन्धी कुनै ऐन, कानून नै थिएनन् । आजको दिनमा पनि त्यसमा सुधार भएको छैन् । तत्कालीन पशुपक्षीं मन्त्रालयसँगको समन्वयमा खासगरी भारवाहक पशुहरुको लागि भने निर्देशिका चाहिं बनेको अवस्था छ । तर कार्यान्वयन फितलो छ ।

यसमा निकै धेरै सुधारको आवश्यकता छ । खासगरी अप्राकृतिक तवरबाट ग्रोथ हार्मोनको प्रयोग गरी मासुजन्य पदार्थको उत्पादन हुने परिपाटी छ । त्यसले पशुको कल्याण त हुन सकेको छैन नै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । पशुको कल्याण हुन सके मात्रै मानव कल्याण हुन्छ भन्ने कुरा हाम्रो नीति निर्माताहरुलाई बुझाउन आवश्यक छ । पशु कल्याणको अभियानमा हामी प्रारम्भिक चरणमै छौं । यसमा धेरै सुधार गर्न आवश्यक छ ।

मासुजन्य पदार्थको कुरा गर्दा हामी कुखुराको मासुमा आत्मनिर्भर बनेका छौं तर, यसको उत्पादन चाहिं अप्राकृतिक रहेछ, हैन ?

पक्कै पनि पशु कल्याणको कुरालाई छोडेर मानव कल्याण वा मानवीय स्वास्थ्यको नजरले मात्रै हेर्ने हो भने पनि कुखुरा उत्पादन भएको मितिले कम्तीमा ९० दिनमा खानको लागि उपयुक्त हुन्छ । तर, हामीकहाँ ३५ दिनदेखि ४५ दिनसम्मको कुखुरा उपभोगको लागि बजारमा पठाइन्छ र त्यो आम उपभोक्ताले प्रयोग गर्छन् । त्यसले जनस्वास्थ्यमा निकै ठूलो खतरा उत्पन्न गरेको छ । मानिसहरुलाई करिब ६० प्रतिशत रोग जनावर बाट नै सर्ने गरेको तथ्यांक छ । यसले पनि पशु कल्याणबिना मानव कल्याण नहुने कुरा स्पष्ट छ ।

अर्कोतिर कुखुरा उत्पादनकै कुरा गर्ने हो भने त यो पुरापुर अप्राकृतिक छ । खुल्ला वातावरणमा पालन गर्नुपर्ने कुखुरालाई निकै सानो बन्द खोरमा अनावश्यक ग्रोथ हार्मोनको प्रयोग गरेर पालन गरिएको छ । जुन जनस्वास्थ्यको हिसाबले अत्यन्तै अस्वस्थकर छ । आम उपभोक्ता त्यही प्रयोग गर्न बाध्य छन् र हामी कुखुराको मासुमा आत्मनिर्भर भयौं भनेर गर्व गरिरहेका छौँ । मासुमा आत्मनिर्भर हुनु फरक कुरा हो तर, मानिसको स्वास्थ र पशु कल्याणभन्दा बाहेक अन्य कुराहरू गौण हुन् भन्ने तथ्यलाई सबैले मनन गर्न जरुरी छ ।

पशु कल्याणका लागि सरकारको प्रयास कस्तो पाउनु भएको छ ?

पशु कल्याणका लागि अहिलेसम्म सरकारले ठोस प्रयास गरेको छैन् । स्वास्थ्यका लागि भन्दै मानव स्वास्थको क्षेत्रमा बजेट विनियोजन भएको छ । तर, सरकार, समाज र हामीले नबुझेको वा बुझ्न नसकेको कुरा के हो भने जनावरको स्वास्थ राम्रो भयो भने मान्छेको स्वास्थ राम्रो हुन्छ भन्ने कुरालाई हामी सबैले मनन गर्न आवश्यक छ ।

अहिलेसम्म सरकारको बढी लगानी मानव स्वास्थमा केन्द्रित थियो । पशुपक्षींको स्वास्थ, वातावरणीय स्वास्थ्य लगायत जसलाई हामी वान हेल्थ पोलिसी भन्छौं मा सरकार सचेत देखिएको छ । जनावर र मानिसको स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई समग्र स्वास्थ्य नीतिको रूपमा अगाडि बढाउन जरुरी छ । सरकार त्यो बाटोमा लाग्न प्रयत्न गरिरहेको जस्तो देखिएको छ । ठोस रुपमा भने पाउन गाह्रो छ ।

एनिमल नेपालले स्थापना कालदेखि आजसम्म गरेका कामलाई सम्झिनुपर्दा कसरी सम्झिनुहुन्छ ?

सन् २००९ मा एनिमल नेपाल स्थापना हुँदा र अहिलेको परिस्थिति भिन्न छ । स्थापनाको समयमा पशु कल्याणको कुरा हाम्रो समाजमा निकै नौलो कुरा जस्तो थियो । आज त्यो अवस्था फेरिएको छ । पशु कल्याणसम्बन्धी जनचेतना बढेको छ । अहिले नेपालमा जनावर सम्बन्धी पशु कल्याणको लागि आवश्यक कानूनको ड्राफ्ट तयार भएर मन्त्रिपरिषद्मा पुगेको छ ।  भारवाहक जनावरको लागि निर्देशिका तयार भएको छ । सरकार पनि पशु कल्याणको ऐन निर्माण गर्ने बाटोमा लागेको छ । यो सकारात्मक कुरा हो ।

अर्कोतिर काठमाडौ उपत्यकाकै कुरा गर्ने हो भने पनि १० वर्षअगाडि उपत्यकामा रेविज डरलाग्दो अवस्थामा थियो । स्थानीय सरकारको सहयोग र हाम्रो पहलमा रेविज नियन्त्रणमा निकै प्रगति हासिल गरेका छौं । त्योभन्दा अगाडि रेविज नियन्त्रणको नाममा सामुदायिक कुकुरहरुलाई विष खुवाएर मार्ने काम गरिन्थ्यो त्यो आफैंमा जघन्य अपराध नै हो ।

अहिले पनि हामी ललितपुर महानगरपालिका र लुम्बिनी नगरपालिकासँग मिलेर सामुदायिक कुकुर नियन्त्रणको क्षेत्रमा काम गरिरहेका छौं । सम्बन्धित स्थानीय तहमा सर्वे गरेर त्यो क्षेत्रका ८० प्रतिशत कुकुरलाई हामी बन्ध्याकरण गर्छौं । वैज्ञानिक तवरले काम गरेको खण्डमा सामुदायिक कुकुर सहजै नियन्त्रण गर्न सकिन्छ ।

अन्यथा, एउटा वयस्क कुकुरले ६ वर्षमा औसत ६४ हजार कुकुर जन्माउन गर्न सक्छ । यसलाई नियन्त्रण गर्न बन्ध्याकरण सबैभन्दा सहज र वैज्ञानिक उपाय हो । अर्कोतिर सन् २०२५ भित्र रेविज नियन्त्रण गर्ने नेपाल सरकारको अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्ने उद्देश्यसाथ काम गरिरहेका छौं ।

पशु कल्याणको क्षेत्रमा काम गर्दा भोग्नुपर्ने चुनौती के के हुन् ? 

पशु कल्याणको क्षेत्रमा काम गर्दा आइपर्ने सबैभन्दा ठूलो चुनौती भनैकै आवश्यक ऐन, कानून निर्माण हुन नसक्नु हो । बनेका निर्देशिकाको पूर्ण कार्यान्वयन हुन नसक्नुलाई बिडम्वना मान्नुपर्छ ।

त्योसँगै हामीसँग संघीय संरचना अनुसार पनि तीन तहका सरकार भएपनि तिनै तहका सरकारको पशु कल्याणको क्षेत्रमा बजेट विनियोजित निकै कम छ । पशुपक्षींको सवालमा केही स्थानीय सरकार भने यसप्रति सचेत देखिएको छ । यो चाहिं सकारात्मक कुरा हो ।

पशु कल्याणकै कुरा गर्दा हाम्रो राष्ट्रिय जनावर गाईको समेत सम्मान छैन् । सडकमा अलपत्र छन्, यो अवस्था कति देख्नुहुन्छ ?

झण्डै ८० प्रतिशत सनातन हिन्दू धर्मावलम्बी रहेको भनिएको नेपालमा हिन्दू धर्ममा पूजा गरिने देशको राष्ट्रिय जनावर गाईको समेत उचित सम्मान नभएको कुरा दुःखका साथ स्वीकार गर्नुपर्छ । हाम्रो सम्मानित सर्वोच्च अदालतले समेत सरकारका नाममा गएको वैशाख ८ गते परमादेश समेत जारी गरेको अवस्था छ । आशा गरौं अब केही सुधार हुन्छ कि ।

धेरैजसो एनजीओ र आईएनजीओको खर्चमा विवाद आउँछ, एनिमल नेपालको अवस्था के छ ? 

पक्कै पनि, हाम्रो मानसपटलमै एनजीओ वा आईएनजीओ भनेको रिपोर्टमा एउटा देखाउने, व्यवहारमा कामै नगर्ने संस्था हुन् भन्ने छाप परेको छ । तर, एनिमल नेपाल त्यस्तौ संस्था होइन । हाम्रो खर्च वा आर्थिक पाटोमा पारदर्शी छ । केही संस्थाहरुले गलत गरे होलान् । त्यसो भन्दैमा सबै संस्थालाई एउटै बास्केटमा राख्न मिल्दैन ।

गलत गर्ने संस्थालाई कार्वाही हुनुपर्छ । सामाजिक संस्थाको नियमन गर्ने समाजकल्याण परिषद आफैं पनि साधनस्रोत र जनशक्तिको अभावसँग जुधिरहेको छ । त्यसले पनि केही समस्या सिर्जना भएको हुनसक्छ । तपाईंहरु जस्तो मिडियाले पनि सबै संस्थालाई एउटै बास्केटमा राखेर तुलना गर्नु सुहाँदैन । गलत कुराको भण्डाफोर गर्नु, राम्रो काम र नतिजाको प्रशंसा र प्रोत्साहन गर्नु सबैको दायित्व हो । यसैमा सबैले साझा पहल गर्न आवश्यक छ ।

अन्त्यमा, केही भन्न चाहानुहुन्छ कि ? 

पशु कल्याण भनेको सारतः मानव कल्याण नै हो । पशुपंक्षीको कल्याणबिना मानव जीवन नै सुरक्षित छैन । अहिले विश्वव्यापी स्वास्थ्य महामारीको रूपमा फैलिएको कोभिड–१९ समेत जनावरबाटै फैलिएको बताइन्छ । त्यसमा जनवारलाई राम्ररी संरक्षण र स्वस्थ राख्ने, उसको कल्याण सोचिदिएको भए अहिलको महामारी सायद देखा पथ्र्यो होला ।

विभिन्न अध्ययनलाई नियाल्यौं भनेपनि धेरै रोगहरु जनावरबाट मानिस र मानिसबाट जनावरमा फैलिने गरेको पाउँछौं । त्यसकारण पनि त्यसो हुन नदिनका लागि पशुकल्याण आवश्यक छ । पशुको कल्याण गर्न सके मानवको कल्याण हुने प्रष्ट छ । यो विषयलाई सबैले मनन गर्न आवश्यक छ । पशुको कल्याण गर्न आवश्यक छ भन्ने कुरा बुझिदिनुहुन आग्रह गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *